झापा,८ साउन । आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले झापाको हल्दीवारी गाउँपालिका -२ पाराखोपी बजारपूर्वका एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार राति २ बजे स्थानीय ६३ वर्षीय बासूँ राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा शङ्कास्पद अवस्थामा झुन्डिएको फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ ।
राजवंशीको मृत्यु शङ्कास्पद देखिएपछि उनका छोरा करिब ३० वर्षीय सुनिल राजवंशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । डीएसपी चन्द नेतृत्वको टोलीले ४ घण्टा लगाएर अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिएको हो ।
झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको, अनुहारसहित शरीरका विभिन्न भागमा चोट लागेको र अनुहारभरि रगत देखिएको वडा अध्यक्ष शुकलाल राजवंशीले पनि बताए । सुनिललाई नियन्त्रण लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक बासूँ र उनका छोराबीच राति झगडा भएको बताइएको छ । छोराको लुगामा समेत रगत भेटिएको डीएसपी चन्दले जानकारी दिएका छन् ।