दमक,६ साउन । दमकका खानेपानी उपभोक्ताहरुले पानी उपभोग गरेवापत अव न्यूनतम महषुल रु ५० बुझाए पुग्न भएको छ । दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानी महषुल दर पुनरावलोकन गर्दे साउन १ गतेदेखि लागू हुने गरि न्यूनतम महषुल दर परिवर्तन गरेको जनाएको हो ।
यसअघि न्यूनतम महषुल रु १३० कायम गरिएको थियो । संस्थाका नवनिर्वाचित सञ्चालक समितिले खानेपानी उपभोक्ताहरुको हितमा गंभीर बन्दैं महषुलको न्यूनतम दरसंगैं नयाँ धारा जडान गरेवापत लाग्दैआएको शुल्क समेत घटाईएको अध्यक्ष रवि केसीले जानकारी दिए । उनका अनुसार नयाँ धारा जडानमा लाग्दैआएको शुल्क रु १२ हजार ३ सय कायम गरिएको छ । यसअघि धारा जडानका लागि उपभोक्ताहरुले रु १५ हजार ३ सय रुपैया बुझाउदैआएका थिए ।
दमकका १० बाहेक अन्य सवै वडामा खानेपानीका धारा पगेका र हालसम्म उपभोक्ताको संख्या करिव १३ हजार नाघेको छ । पूर्वमै सवल बन्दै गएको यहाँको खानेपानीमा धाराको मागलाई ध्यान दिदैं धारा जडानसंगैं नयाँ आवेदनको माग सधै खुला राख्ने निर्णय भएको अध्यक्ष केसीले बताए । फोटोसहितको उपभोक्ता परिचयपत्र यसअघि निश्चित समयमा मात्र खुलाउने गरिदैआएको थियो । अध्यक्ष केसीले स्वच्छ खानेपानीमा सवै नागरिकको पहुँचमा पुरयाँउन यस किसिमका नयाँ कार्यक्रम सञ्चालनमा ल्याईएको जनाएका छन् । एकैसाथ लागू गरिएको यस कार्यक्रमले उपभोक्ताहरुलाई सुविधा पुगेको उनको जोड छ । यसैगरि, संस्थाले आर्थिक रुपमा अति कमजोर आयस्रोत भएका परिवारलाई लक्षित गरेर मागका आधारमा सार्वजनिक धारा जडान कार्य थालनी गर्ने उनको भनाई छ ।
बाह्घरे खानेपानी आयोजना काम आधा बढी
दमक १० का बासिन्दालाई लक्षित गरि स्थानीयले बाह्रघरे खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत खानेपानी आयोजनाको काम तीव्र बनाएका छन् । २०७५ सालदेखि त्यहाँ डिपीआर अनुसार पहिलो चरणमा सडक बिस्तार , घेराबेरा, कार्यालय कक्ष ,ट्यांकी निर्माण,कल्भर्ड निर्माण, बोरिङ गाड्ने लगायत आधा बढी संरचनाका काम सम्पन्न भएको अध्यक्ष बोधराज न्यौपानेले बताए ।
आयोजनाको निर्माणका लागी स्थानीय नरबहादुर बिष्ट, लाईफलाइन अस्पताल, र बेधनिधि शिवाकोटीबाट करिब ८ कट्ठा जग्गा निशुल्क उपलब्ध भएको हो । ४ लाख ५० हजार घनलिटरको ट्ङकी र २ वटा बोरिङ रहने यस आयोजना सम्पन्न भएपछि दमक ९ को आंशिक र १० को सबै क्षेत्र गरेर १ हजार ६ सय ७१ घर धुरी लाभादिन्त हुने समितिका सचिव खगेन्द्र भट्टराईले बताए ।