विपतजन्य घटनाले ताप्लेजुङमा नौ जनाको मृत्यु

ताप्लेजुङ,५ साउन । ताप्लेजुङमा एक वर्षको अवधिमा विपतजन्य घटनाका कारण नौ जनाको मृत्यु भएको छ । पछिल्लो आर्थिक वर्ष २०८०-०८१ मा विपतजन्य विभिन्न घटनामा नौ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार गत आवमा विभिन्न ६४ वटा विपतका घटना भएको र उक्त घटनाबाट ९ जनाको मृत्यु भएको छ । यस्तै, विपतजन्य घटनामा परी तीन जना घाइते भएका छन् ।
विपतजन्य घटनाअन्तर्गत गत आवमा बाढीपहिरो र चट्याङका कारण नौ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले जानकारी दिए । सहायक प्रजिअ भट्टराईका अनुसार विपतजन्य घटनाबाट ६४ वटा निजी घर पूर्णरुपमा क्षति भएको छ ।
यता, गत आवमा राहत सहयोगबापत विपत् प्रभावित परिवारलाई २४ लाख आठ हजार रुपियाँ रकम वितरण गरेको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला विपत् व्यवस्थापन समितिमार्फत सो राहत रकम वितरण गरिएको सहायक प्रजिअ भट्टराईले बताए । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा ६१ वटा विपतजन्य घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।
७४ हजार नागरिक विपद्को जोखिममा
जिल्ला विपत व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जिल्लाका ७४ हजार नागरिक विपद्को जोखिममा रहेको बताएका छन् । त्योमध्ये सबैभन्दा बढी जोखिम बाढी पहिरोको रहेको उनको भनाइ छ । बाढी पहिरोले धनजनको क्षति गरिरहेको बेला प्रजिअ आचार्यले जिल्लाका ४१ वटा वडा जोखिमको सूचीमा रहेको बताए ।
जनगणना २०७८ अनुसार ताप्लेजुङको जनसंख्या १ लाख २० हजार ३ सय रहेको छ । एक नगरपालिका र आठ गाउँपालिका गरी नौ स्थानीय तह रहेको जिल्लामा ६१ वटा वडा छन् ।
स्थानीय तहले आफ्नो क्षेत्रको जग्गालाई वर्गीकरण गरेर बसोवास योग्य, खेती योग्य भनेर छुट्याउने र त्यसै अनुरूप व्यवस्थापन गरेपछि मात्रै विपद्को जोखिम कम हुने आचार्यको तर्क छ ।‘हाम्रो अध्ययन अनुसार सबैभन्दा बढी बाढी पहिरो, त्यसपछि आगलागी, चट्याङ्ग, हावाहुरी लगायतबाट क्षति हुन्छ,’ आचार्यले भने, ‘हाम्रो बस्ती विकास संरचनागत रुपमा कस्तो बनाउनु पर्छ भनेर वैज्ञानिक ढंगले भएको छैन, स्थानीय तहले त्यो काम सुरु गरेका छन् र त्यसपछि मात्रै विपद् कम गर्न सकिन्छ ।’

Leave a Reply

Your email address will not be published.