दमक,२७ असार । मोटरसाइकल दुर्घटनामा परेर झापाको गौरादह– १ सितापुरीस्थित पाडाजुँगी– गौरीगञ्ज सडकखण्डमा आज विहान एक जना भारतीय युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई आफन्तको घरमा बसदैआएका ४१ बर्षिय कमल ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु.९ प.१२७१ नम्बरको मोटरसाइकल विहान १ वजे आफै अनियन्त्रित भई सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा गंभीर घाईते मोटरसाइकलमा पछाडी सवार भारत झारखण्ड जिल्ला गोडा स्थायी ठेगाना भएका ठाकुरको दमकस्थित निम्स अस्पतालमा उपचारका क्रममा चिकित्सकले बिहान २.३० बजे मृतक घोषणा गरेका थिए ।
मोटरसाइकल चालक गौरादह १ बस्ने ३३ वर्षीय गोपाल ठाकुरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर घटनाका बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरि, भलिबलका पूर्व राष्ट्रिय खेलाडी दमक निवासी प्रवेशकुमार श्रेष्ठ (राजु) मोटरसाईकल दुर्घटनामा परेर घाईते भएका छन् । पूर्वाञ्चल भलिवल टिमका क्याप्टेन समेत रहेका श्रेष्ठ मोटरसाईकलबाट दमकदेखि इलाम जानेक्रममा बुधबार दिउँसो इलामको ड्राईभर चौंकमा दुर्घटनामा परेका थिए । दुर्घटनामा घाईते श्रेष्ठको दमकमा उपचार भईरहेको भलिवलका रेफ्रि रोशन दाहालले बताए ।