दमक,२३ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर बुधबार दमकसहित देशैभरि विभिन्न कार्यक्रम गरि मनाईएको छ ।‘हाम्रो भूमि, हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ दमक,कमलसहित देशैभरि विविध कार्यक्रम गरि मनाईएको हो ।
यसैक्रममा दमक नगरपालिकाको आयोजनामा दमक -७ स्थित रतुवा खोलामा बनाइएको तटबन्धनमा वृक्षरोपण गरिएको छ । त्यहाँ आयोजित वृक्षारोपणमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकसहित विभिन्न सामाजिक संघ संस्था, स्काउटरहरुको उल्लेखिय सहभागिता थियो । सो अवसरमा दमक नगरपालिका प्रमुख रामकुमार थापाले दमक नगरलाई हरित नगरको रुपमा बिकास गर्ने अभियानमा साथ दिन आम नगरबासीसँग अपिल गरे ।
नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले दमक नगरका खुल्ला ठाउँहरुमा वृक्षारोपण गर्न संघ संस्थाहरुले सञ्चालन गर्ने गरेका अभियानहरुमा स्थानीय सरकारको साथ रहने उल्लेख गरिन् ।
सो अवसरमा दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्की, दमक- ७ का वडाध्यक्ष भिम पौडेल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ लगायत नगरका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखिय सहभागिता थियो ।
त्यसैगरी कमल -५ मा गुह्येश्वरी सामाजिक विकास संस्थाले अघिल्ला बर्षहरु जस्तै यो बर्ष पनि बृहत रुपमा वृक्षारोपण कार्यक्रम सहित वातावरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा जनप्रतिनिधिहरु सशस्त्र प्रहरी, स्काउटमा आवद्ध बिद्यार्थीहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु लगायतको उल्लेखिय सहभागिता थियो ।
आयोजक गुह्येश्वरी सामाजिक बिकास संस्थाका अध्यक्ष गोपालबहादुर निरौलाले वातावरण संरक्षण गर्दै पर्यावरीय सन्तुलनका लागि वृक्षारोपणले योगदान दिने विश्वाससहित यो कार्यक्रम गरिएको बताए । साशसेहि अवसरमा लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वृक्षरोपण कार्यमा सघाँउ पुरयाँउन आयोजक संस्थालाई ११ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेको थियो ।
वृक्षरोपण कार्यक्रममा आयोजक संस्थासहित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था, लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, पाथीभरा हरिकिर्तन मण्डली, शसस्त्र प्रहरी वल लगायतका संस्थाको सहकार्य रहेको थियो ।
त्यसैगरी दमकमा नेकपा माओवादी केन्द्रमा गत १३ जेठदेखिनै वडा वडातहमा सञ्चालन गरिरहेको पूर्वेली संगठन सुदृढिकरण अभियानलाई वातावरण दिवससँग पनि जोडेको छ ।
अभियान अन्तर्गत दमकमा कागती र लिचीका एक लाख विरुवा रोप्ने कार्यक्रम चलाइरहेको माओवादी केन्द्रको आजको कार्यक्रममा कोशी प्रदेशका पूर्व मन्त्री एवं संसदीय दलका नेता इन्द्र आङबोको प्रमुख आतिथ्य रहेको थियो ।
माओवादी केन्द्रले बिहान दमक ८ स्थित माओवादी केन्द्रको नगर पार्टी कार्यालय परिसरमा औपचारिक कार्यक्रम गरि वातावरण दिवसका बारेमा सचेतनासहित वृक्षारोपण गरेको नगर अध्यक्ष कुलबहादुर बस्नेत रविले जानकारी दिए । माओवादीद्धारा दमकमा जारी अभियानका संयोजक समेत रहेका माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नीसहित पार्टी नेता, कार्यकर्ताहरुको उल्लेखिय सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो । सो पछि माओवादी केन्द्रले दमकको सुर्योदय बोर्डिङ स्कूलका बिद्यार्थीहरुलाई वातावरण दिवसको अवसर पारेर तीन सय विरुवा उपहार स्वरुप प्रदान गरेको छ ।
नेता आचार्य, सन्तोष गौतम, नगर कमिटी अध्यक्ष बस्नेतसहितको टोलीले बिद्यालयमै पुगेर त्यहाँका करिब ३ सय बिद्यार्थी, शिक्षक, कर्मचारी र कतिपय अभिभावकहरुलाई समेत कागती, लिची, जामुन लगायतका विरुवा प्रदान गरेका थिए ।