दमक ,२३ जेठ । पूर्वका आदिवासी धिमाल र सन्थाल जातिको कला,संस्कृतिलाई उजागर गर्ने उद्देश्यले दमकमा दुई दिने सांस्कृतिक महोत्सव हुने भएको छ ।प्रथम नागरिक धिमाल ब्यस्थापन समिति र नेपाल आदिवासी सन्थाल उत्थान संघ दमकको संयुक्त आयोजनामा यहि २६ र २७ जेठमा सांस्कृतिक महोत्सव गर्न लागेको हो ।दुवै संस्थाले बुधबार दमकको सोनालिका खाना घरमा पत्रकार सम्मेलन गरि महोत्सव सफल बनाउन आवश्यक तयारी भईरहेको जनाएका छन् ।
प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमालले धिमाल र सन्थाल जातिको कला,संस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पुरयाउँने उद्देश्यले महोत्सव आयोजना हुन लागेको जानकारी दिए ।
कोशी प्रदेश सरकारको सहयोगमा हुने यस महोत्सव दमक- ८ स्थित कस्मिक पाटी प्यालेसमा हुने छ । महोत्सवमा धिमालसहित सन्थाल जातिको सांस्कृतिक नृत्य , खाना ,गहना तथा पहिरनको विशेष प्रस्तुति रहने आयोजक सन्थाल उत्थान संघ दमकका अध्यक्ष कर्ण हेमरमले बताए ।
महोत्सवमा धिमाल जातिको परम्परागत ढोल नृत्य प्रतियोगिता समेत हुने छ ।
महोत्सवमा धिमाल र सन्थालसंगै यस क्षेत्रका आदिवासी जनजातिहरुको आधा दर्जन खाना तथा पहिरनका व्यवसायिक स्टलहरु रहने प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका सचिव रत्न धिमालले जानकारी दिए ।
महोत्सवमा झापा,मोरङमा बस्दैआएका धिमाल ,सन्थालहरुको उल्लेखीय उपस्थिति रहने आयोजक संस्थाले बताएका छन् । दमकमा धिमाल जातिको विविध कार्यक्रम हुदैआएपनि सन्थालको भने संस्थागत रुपमा यो पहिलो कार्यक्रम भएको सन्थाल उत्थान संघ दमकका अध्यक्ष कर्ण हेमरमले बताए ।
महोत्सवको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गर्नेछन् भने महोत्सव भरि विहान ११ वजेदेखि अपरान्ह ५ वजेसम्म सांस्कृतिक कार्यक्रम ,भेषभूषा तथा खानाको प्रर्दशनी हुने जनाईएको छ । पत्रकार सम्मेलनमा प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका सल्लाहकार संयोजक रामबहादुर धिमाल,धिमालका अगुवाहरु मोहन धिमाल,गिरीराज धिमाल लगायतको उपस्थिति रहेको थियो ।