दमकबाट लागूऔषधका चार कारोवारी पक्राउ

दमक २ जेठ । झापाको दमकमा एक सामुदायिक विद्यालय नजिकै एकैसाथ चार जना लागूऔषध कारोबारीहरु पक्राउ परेका छन् । मङ्गलवार राती १० बजेतिर दमक- २ स्थित हिमालय माध्यमिक विद्यालय नजिकै बाटोमा लागूऔषध ब्राउनसुगर बिक्री गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।
लागूऔषध बिक्री गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली पुगेर खानतलासी गर्दा दमक -२ का ४३ वर्षीय नेत्र थापा, सोही ठाउँका २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक -५ का २६ वर्षीय प्रकाश लिम्बूको साथबाट स–सानो प्लास्टिकको पोकामा ३० पोका ब्राउन सुगर भेटिएको उनले जानकारी दिए ।
पोकाहरु डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर रहेको पनि प्रहरीले जनाएको छ । चारै जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको पनि चन्दले बताए ।

Leave a Reply

Your email address will not be published.