इलाम,१५ बैशाख ।इलाम क्षेत्र नम्बर २ मा करिब ५५ प्रतिशत मतदान भएको छ। अपरान्ह साढे चार बजेसम्मको रिपोर्ट अनुसार यहाँ करिब ६४ हजार मतदाताले मतदान गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
उनका अनुसार अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ। उपनिर्वाचनमा लगभग ६० प्रतिशत मत खस्ने आकलन गरिएको छ।त्यस्तै, मतगणना आजै रातिबाट सुरु गर्ने वा भोलिसम्म पर्खनुपर्ने भन्ने यकिन भइनसकेको सहायक निर्वाचन अधिकृत इन्द्रप्रसाद आचार्यले जानकारी दिए। भौगोलिक विकटताका कारण मतपेटिका पुग्न समय लाग्ने बताउँदै त्यसलाई हेरेर मात्रै मतगणनबारे निर्णय लिइने उनले बताए।
यहाँ एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।इलाम९२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन्। ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भएको थियो।
शनिबार इलाम–२ सँगै बझाङ १ प्रदेशसभा १ (क)मा पनि उपनिर्वाचन भइरहेको छ। दुवै ठाउँमा मतदान कार्य जारी छ।
मतगणनास्थल तयारी अवस्थामा
इलाम २ मा भएको उपनिर्वाचन अन्तर्गत मतदान सम्पन्न भएपश्चात मतगणनाका लागि मतगणनास्थल तयारी अवस्थामा राखिएको छ ।इलाम ७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल ) मतगणनाका लागि तयारी अवस्थामा राखिएको हो ।
मतगणना स्थलमा तारको जाली लगाइएको छ । मतगणना भएसँगै सो स्थानमा कोही पनि पस्न नपाउने गरी व्यवस्था गरिएको छ ।साँझ ५ बजे मतदान सम्पन्न भएपश्चात मतपेटिका सोझै सिटी हलमा ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय सहमतिपछि मतगणना गरिने कार्यालयले जनाएको छ ।