गौरादह, ६ बैशाख । नेकपा (एमाले ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा हुने विचार व्यक्त गरेका छन् । बिहीबार झापाको गौरादह ५ मा एमाले वडा कमिटीले आयोजना गरेको नयाँ वर्ष२०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनताको विकासप्रतिको चाहना पूरा गर्न आफनो पार्टी सधैँ प्रतिबद्ध रहेको जोड दिए ।
वर्तमान सरकार तथा समीकरण जनहितका लागि बनेकाले जनताको अपेक्षाअनुसार काम गर्ने उनको भनाई थियो ।विकासका कामहरू अधुरा नै रहेको जनाउँदै उनले त्यस्ता अधुरा विकासका कामहरू अब पूरा हुँदै जाने उल्लेख गरे। मुलकको विकास नचाहने शक्तिहरू अहिले पनि एमाले र वर्तमान समीकरणविरुद्धमा लागिरहेको पनि चर्चा गर्दे उनले भने, “हामी काममा विश्वास गर्छौँ, जनताको अपेक्षाअनुसार अघि बढ्छौँ” उनले एमालेले कसरी काम गर्छ भन्ने सबै जनताले महसुस गरेको सुनाए ।
आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ का सबै अधुरा कामलाई पूरा गर्न आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्दे ओलीले आफू प्रधानमन्त्री हुँदा निर्वाचन क्षेत्रमा ल्याइएका विभिन्न योजना अलपत्र हुन पुगेकाले त्यसतर्फ मेरो ध्यानाकर्षण भएको बताए । निर्वाचन क्षेत्रमा आएका बखत आफूसंग स्थानीयले विकासका अधुरा योजनाको विषयमा जिज्ञासा राखेका अध्यक्ष ओलीले सुनाए । अध्यक्ष ओलीसंगै पार्टी उपाध्यक्ष रामबहादुर थापा लगायतका नेताहरु संलग्न थिए ।
उपनिर्वाचनमा लाग्न आग्रह
इलाममा हुन लागेको उपनिर्वाचनमा सूक्ष्म तवरले एकताबद्ध भएर लाग्न अध्यक्ष ओलीले निर्देशन दिए । इलाम क्षेत्र नं २ को निर्वाचन परिचालन कमिटीका पदाधिकारी तथा सदस्यहरू र पार्टीका स्थानीय अगुवा नेतालाई उनले सो निर्देशन दिएका हुन् ।
एमाले उपाध्यक्ष, यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि वैशाख १५ गते इलाम क्षेत्र नं। २ मा उपनिर्वाचन हुँदैछ । नेम्वाङका छोरा सुहाङलाई एमालेले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएको छ । स्व. नेम्वाङको सपना पूरा गर्न सुहाङलाई जिताउन लाग्न उनले निर्देशन दिए ।