दमक,५ बैशाख । दमकमा यहि बैशाख १६ गतेदेखि ३० गतेसम्म हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सञ्चालन हुने भएको छ ।दमक नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार सरोकारवालाहरुको अन्त्रकृयामा हात्तीपाईले रोग विरुद्ध औषधीसेवनको तयारीका बारेमा सो जानकारी दिएको हो । नगरपालिकाको सभाहल आयोजित बहुक्षेत्रीय गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी, दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र भट्टराईले हात्तीपाईले रोग विरुद्धको औषधी सेवनको उपयोगिताका विषयमा जानकारी गराएका थिए । जिल्लाका १५ वटै स्थानीय तहमा सञ्चालन हुने यस किसिमको कार्यक्रममा जिल्लाका ९ लाख मानिसले औषधी खुवाउने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।
सो कार्यक्रम अन्तर्गत दमकमा १ लाख ६ हजार ३ सय ९६ जनालाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने र त्यसका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वमसेविकाहरु गरि १०४ जना परिचालित हुने दमक नगर स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाको कचनकवल लगायतका पालिकामा गतवर्ष ७ जनामा हात्तीपाईले रोग देखिएको थियो ।
देशैभरिबाट हात्तीपाईले रोग उन्मुलन गर्ने लक्ष्य राखेर सरकारले विगत १३ बर्षदेखि यस किसिमको राष्ट्रिय अभियान सञ्चानलन गरिदैआएको जनाईएको छ । गतवर्ष यस औषधी दमकमा ८१ प्रतिशतले सेवन गरेको तथ्यांकले देखाएको छ । औषधी सेवनलाई प्रभावकारी बनाउन स्कूल,घर,टोल टोलमा पुगेर औषधी सेवन कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको दमक नगर स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए । यस औषधी दुई वर्षमुनी र दिर्घरोगी,ओछ्यानमा थलिएका विरामी, मृग रोगी,गर्भवती लगायतका स्वास्थ्य समस्या भएकाले भने सेवन गर्न नमिल्ने उनको भनाई छ ।
औषधी सेवन कार्यलाई अवरोध पुरयाँँएको पाईए त्यस्तालाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कारवाही समेत हुने व्यवस्था रहेको गोष्ठीमा जनाईएको छ ।