दमकमा इसाई समाजको वृहत सरसफाई

दमक, १९ चैत । सामाजिक कार्य अन्तर्गत झापाको दमकमा सोमबार इसाई धर्मालम्वीहरुले सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । प्रभु यशु ख्रीष्ट पुनरुत्थान दिवस (इष्टर सण्डे) को अवसर पारेर दमक नगर इसाई समाजले दमक बसपार्कसहित चौंकका विभिन्न स्थानमा सरसफाई गरेको हो ।
बसपार्कबाट शुभारम्भ गरिएको सरसफाई गणतन्त्र र्चौकमा आएर समापन गरिएको थियो । समाजका अध्यक्ष आकाश थुलुङ राईको अध्यक्षतामा र दमक–६ का वार्ड अध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यतामा सरसफाई कार्यक्रमको शुभारम्भ गरिएको सचिव अजय पाठकले बताए ।
कार्यक्रममा दमक नगर इसाई समाजका पूर्वअध्यक्ष समेत रहेका अन्तरधार्मिक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले येशु ख्रीष्टको जन्म, मृत्यू र पुनरुत्थानको विषयमा चर्चा गरेका थिए ।कार्यक्रममा दमक -६ का वडाध्यक्ष थापाले दमक नगरपालिकाको विकास र समृद्ध दमक नगर निर्माणको अभियानमा सामाजिक तथा धार्मिक संघसंस्थाको साथ र सहभागिता आवश्यक रहेको औल्याए ।
त्यस्तैं, कार्यक्रममा दमक नगर इसाई समाजका अगुवा पाष्टर एनडी थुलुङ राई, पाष्टर दावा शेर्पा, पाष्टर सन्तोष रणपहेली, पाष्टर मुक्ति किराती थुलुङ लगायत दमकका दर्जनौं चर्च र मण्डलीहरुका पाष्टर, धर्मानुनायीहरुको उपस्थिति रहेको थियो ।
सरसफाई समापन कार्यक्रममा दमक नगर इसाई समाजका अध्यक्ष राईले पुनरुत्थान दिवसको अवसरमा शुभकामना दिदै दमक नगरको विकास र समृद्धि अभियानमा सहभागि भएर समाजले काम गरिरहने प्रतिवद्धता जनाएका थिए ।समाजले बर्षेनी सामाजिक कार्य अन्तर्गत सरसफाई,रक्तदान लगायतका कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गपिरआएको जनाईएको छ ।
सरसफाई कार्यक्रमको संयोजक तथा दमक नगर इसाई समाजका पूर्वध्यक्ष पाष्टर दावा शेर्पाले सरसफाई कार्यमा धूलोमैलो भएर सक्रियताका साथ सहभागि इसाई दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published.