हुस्सुका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

विराटनगर,२६ पुस । बाक्लो हुस्सु र कुहिरोका कारण विराटनगर बिमानस्थलको उडान आज पनि विहानैदेखि प्रभावित भएको छ ।उपर्युक्त भिजिविलिटी नहुँदा हिंजो विराटनगरबाट एउटा मात्रै एकतर्फी उडान भएको थियो ।हिंजो विराटनगर एयरपोर्टमा पार्किङका लागि मंगलबार साँझ आएको बुद्ध एयरको जहाज काठमाडौं जाने बाहेक कुनै पनि उडान नभएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । अन्य उडान भने रद्द गरिएको थियो ।
आज पनि मौसमको अवस्था हालसम्म उस्तै रहेको कारण उडान हुने नहुने टुंगो नभएको उनले बताए ।सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिन्छ ।बुधवार भिजिबिलिटी एक हजार मिटर मात्र पुगेको थियो ।
विराटनगरबाट काठमाडौंंका लागि दैनिक बुद्ध एयरको ७ वटा, यति एयरलाईन्सको ५ वटा, श्री एयरलाइन्सको ३ वटा र सौर्य एयरलाइन्सको एउटा गरी १६ वटा उडानहरु हुने र दैनिक करिब १ हजार हवाई यात्रुहरुले सेवा लिदै आएका छन् ।

तराईमा बिहानैदेखि हुस्सु र कुहिरो
कोशी प्रदेशका तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र गण्डकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने जनाइएको छ ।महाशाखाका अनुसार आज दिउसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ।हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन्।

Leave a Reply

Your email address will not be published.