गौरीगञ्जमा प्रथम आदिवासी जनजाति फुड फेस्टिवल हुने

गौरीगञ्ज २२ पुस । झापाको गौरीगञ्जमा यहि पुस २८ गते प्रथम ऐतिहासिक आदिवासी जनजाति फुड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । आदिवासी जनजाति महासंघ गौरीगंजको आयोजनामा हुने एक दिवसीय फुडफेस्टिवलसहितको सांस्कृतिक कार्यक्रमको तयारी तीव्र पारिएको आयोजक संस्थाले जनाएको छ ।महासंघले आज गौरीगञ्जमा पत्रकार सम्मेलन गरि सो कार्यक्रमका बारे जानकारी दिएको हो ।
गौरीगञ्ज ३ स्थित गौरीञ्ंज माविको प्राङ्गणमा हुने फेस्टिबलमा स्थानीय १२ वटा भन्दा बढी जातजातिको मौलिक लोक नृत्यसहितको खानाका परिकार रहनेछ । आदिवासी जनजाति महासंघ गौरीगंजका अध्यक्ष गंगाप्रसाद राजवंशीका अनुसार गौरीगंज गाउँपालिकाको आर्थिक सहयोगमा हुने कार्यक्रममा खानाका परिकार, जातिय नृत्यसहित सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति समुदायका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहनेछ । आदिवासी जनजाति जेष्ठ नागरिक सम्मान संगै निर्वाचित गाउँपालिका अध्यक्षहरूको सम्मान, आदिवासी जनजाति सेल्फी बोर्ड समेत राखिने छ । कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
फेस्टिवलमा आदिवासी राजवंशी, ताजपुरिया र गन्गाई जातिको भाक्का, पिठ घुम्नीमुरी, गुन्जुर र सिद्ल (शिध्रा), नेवारको यमरी, सन्थालको खिचडी,राई जातिको तरूल, मकै र कोदो , फापरको रोटी, सेलरोटी, लिम्बूको फिलिङ्गेको अचार, मेसुको अचार, तामाङ्गको सखरखण्ड, संथालको खिचडीलगायतका मौलिक
ं(परिकारको स्वाद निशुल्कमा उपलव्ध गराउन व्यवस्था मिलाईएको छ भने संगै मौलिक नृत्य र आदिवासी जनजाति आधुनिक गीत र नृत्यहरूद्धारा मनोरञ्जन प्रदान गरिने छ ।
कार्यक्रमलाई व्यवस्थित आदिवासी जनजाति महासंघका उपाध्यक्ष आत्माराम राजवंशीको संयोजकत्वमा अशोक कुमार ताजपुरिया सचिव र कोषाध्यक्षमा सायरा श्रेष्ठ, राजेन्द्र राई रहेको आर्थिक समिति समेत गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गंगाप्रसाद राजवंशी, उपाध्यक्ष आत्माराम राजवंशी, सचिव अशोक कुमार ताजपुरिया, सहसचिव राजेन्द्र राई, राजवंशी समाज विकास समितिका गौरीगंज अध्यक्ष गोपाल प्रसाद राजवंशीसमेत उपस्थिति थिए ।

Leave a Reply

Your email address will not be published.