कियाचु गुञ्जमान स्मृति पुरस्कारबाट चङबाङ पुरस्कृत

झापा,१७ पुस । लेखक तथा साहित्यकार हरि हुक्पा चङबाङ कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार–२०८० द्वारा पुरस्कृत भएका छन् ।प्रजातन्त्र आन्दोलनका क्रान्तियोद्धा झापाबासी दिवंगत बौद्धिक व्यक्तित्व गुञ्जमान सुब्बा (आङबुहाङ) को स्मृतिमा स्थापना गरिएको कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार–२०८० द्वारा चङबाङ नगद, सम्मानपत्रसहित पुरस्कृत भएका हुन् । किरात याक्थुङ चुम्लुङ झापा शाखाले स्व. गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार कोष स्थापना गरि पहिलोपटक सो पुरस्कार प्रदान गरेको हो ।७३ बर्षिय चङबाङ शिवसताक्षी नगरपालिका वडा नं १० सैनिक बस्तीमा परिवारसहित बस्दैआएका छन् ।
साहित्यकार तथा इतिहासकार इमानसिं चेम्जोङको १२१ औं जन्मजयन्ती अवसर पारेर सोमबार बिर्तामोडस्थित चुम्लुङ जिल्ला कार्यालयमा एक कार्यक्रम गरि श्रष्टा चङबाङलाई सो पुरस्कार प्रदान गरिएको अध्यक्ष सेसेहाङ फियाक लिम्बूले बताए ।सो पुरस्कार चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेलाले प्रदान गरे ।
सो पुरस्कार चङबाङद्वारा लिखित दर्जनौं कृतिहरूमध्ये संक्षिप्त हाक्पारे गीत अर्थात ‘चुक्मुक् हाक्पारे साम्लो’ लाई छनौट गरि प्रदान गरिएको हो ।
चुम्लुङ झापाले हरेक वर्ष वितरण गरिने गरि स्थापना गरिएको कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार अक्षयकोषका लागि सुब्बा परिवारकी बहिनीज्वाँई विर्तामोड नगरपालिका वडा नं. १ निवासी क्या. जगनधोज वनेम र बहिनी कृष्णकुमारी आङबुहाङ वनेमले रू. १ लाख ५० हजार हस्तान्तरण समेत प्रदान गरेका थिए ।
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि डा. तिगेला, संघीय सदस्य इक्शा सम्बाहाङफे, पुरस्कृत व्यक्तित्व कियाचुका पूर्व केन्द्रीय उपाध्यक्ष चङबाङ, गुञ्जमान सुब्बाका स्मृतिग्रन्थका सम्पादक तथा लेखक बालचन्द्र आङबुहाङ्, जिल्ला सल्लाहकारद्वय क्या. जगनधोज वनेम, दुर्गा नेम्बाङ लगायतले साहित्यकार इमानसिं चेम्जोङ र गुञ्जमान सुब्बा (आङबुहाङ) को ईतिहास, साहित्य र सामाजिक रूपान्तरणको सन्दर्भमा चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.