भ्रष्टाचारमा नेताहरुबीच सौदाबाजी चल्छ : महामन्त्री थापा

झापा १७ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमाले शीर्ष नेतृत्वको कटु आलोचना गरेका छन् ।भ्रष्टाचारका विषयमा दुईचार जना नेताले बन्द कोठामा सहमति गर्ने र बाहिर हाँस्दै निस्केको दृश्यले मुलुकलाई गिज्याइ रहेको थापाले बताए । उनले यो दृश्य असोभनीय, अस्वभाविक र उदेकलाग्दो भएको टिप्पणी गरे। यसले मुलुक र जनताको अहित शिवाय केही नगर्ने उनले दाबी गरे।

शनिबार नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई सुरुङ्गामा सम्बोधन गर्दै थापाले भने,- ‘ भ्रष्टाचारको पोल खोल्ने कुरा गरेर कसैले कसैलाई तर्साउन पाइदैन, तेरो यो पोल खोलिदिन्छु, त्यो पोल खोलिदिन्छु भन्दै नेताहरूले भ्रष्टाचारीलाई जोगाइ रहेका छन् ।’ नेतृत्वकै कारण नेता र राजनीतिप्रति नागरिकमा निरासा पैदा भएको थापाको जिकिर छ।

भ्रष्टाचारको कुनै पनि भारी पार्टीले बोक्न नसक्ने बताएका थापाले भ्रष्टाचारका मुद्दामा सबैमाथि निष्पक्ष छानविन हुनुपर्नेमा जोड दिए । काङ्ग्रेस नेताकार्यकर्ता भएर भ्रष्टाचारबाट जोगिन्छु भन्ने सोच कसैले पनि नराख्न आग्रह गदै उनले भने,- ‘ दोषी उम्किनु हुँदैन, निर्दोष फस्न हुँदैन यसमा कांग्रेस स्पष्ट छ ।’

देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको उनले बताए । भ्रष्टाचारकै कारण राजनीतिक नेतृत्व डुङ्डुङ्ती गन्हाएको उनले जिकिर समेत गरे। भ्रष्टाचारमा नेताहरुबीच सौदाबाजी चल्ने गरेको उनले बताए ।

महामन्त्री थापाले भ्रष्टाचारको एउटा मुद्दा निस्कने बित्तिकै एकले, अर्को र अर्कोले अर्को विषय उठाउने गरिएको छ,यसबाट नेता आपसमा मिल्ने र मिलाउने प्रष्ट हुने जिकीर गरे ।

फरक प्रशंगमा थापाले आफू वरिपरि डुलिरहने र नजिकमा बसेर चाकरी गर्नेहरुलाई मात्रै चुनावमा टिकट दिने पुरानो प्रणालीले काङ्ग्रेस कार्यकर्तामा निराशा बढेको बताए ।

‘ माथिबाट टिकट पठाएर उम्मेदवार बनाउने प्रथा अब बन्द गर्नुपर्छ ’भन्दै उनले काङ्ग्रेस बिग्रिएकै अर्को गुटलाई बिहानदेखि बेलुकासम्म सत्तोसराप गर्ने काम कसैका लागि ठिक नभएको स्पष्ट पारे ।
महामन्त्री थापाले भरभराउँदो युवा जनशक्ति रहेको स्वर्णिमकालमा मुलुक भएपनि उनीहरूमा आशा जगाउने कुनै कार्य सरकारमा पुगेकाहरुबाट नभएको गुनासो गरे। उनले छिमेकी चीन र भारतको बजारलाई युवा शक्ति प्रयोग गरेर अवसरको सदुपयोग गर्नु पर्ने बताए ।

कार्यबाहक क्षेत्रीय सभापति बिनोद ढकाल अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति खेम सिटौला, रुपनारायण खतिवडा लगायत क्षेत्रको सांगठनिक अवस्थाका विषय प्रष्ट्याएका थिए भने केन्द्रीय सदस्य गोमा भट्टराई, काङ्ग्रेस झापा सभापति देउकुमार थेबेले समेत आफना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published.