दमक,२० साउन । झापाका साप्ताहिक पत्रकारहरु संगठित भएका छन् । झापा ,मेचीनगर–९ स्थित खुट्टीडाँगी वन सिमसार क्षेत्रमा शनिबार सम्पन्न भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रामप्रसाद निरौला, सचिवमा झुलन रेग्मी र कोषाध्यक्षमा अनुषा चुडाल र सदस्यहरुमा दिपक अधिकारी, विष्णु पौडेल, डम्बर बराल, सेलिङ केसी, लीला राई, तीर्थ तिम्सिना, इशा प्रधान रहेका छन् ।
झापामा २४ वटा साप्ताहिक पत्रिका नियमित रुपमा प्रकाशन हुँदै आएका छन् । भेलाले साप्ताहिक पत्रिकालाई व्यवस्थित रुपमा सञ्चालन तथा साप्ताहिक पत्रिकालाई सञ्चालन गर्न विधान मस्यौदा समिति बनाई काम अगाडि बढाउने समेत निर्णय भएको उनले जनाएका छन् ।
नवनिर्वाचित अध्यक्ष पाठक संयोजक रहेको मस्यौदा समितिको सदस्यमा राजबाबु शंकर, रेजिना गौतम, इन्दु पूर्वेली र लेखनाथ शिवाकोटी रहेका छन् । अग्रज पत्रकार लेखनाथ शिवाकोटीको अध्यक्षतामा सम्पन्न भेलामा साप्ताहिक पत्रिकाको अवस्था, चुनौती र सम्भावनाका विषयमा सहभागीले सुझाव राखेका थिए भने कार्यक्रमको सञ्चालन झुलन रेग्मीले गरेका थिए ।
टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कार स्थापना
नेपाल पत्रकार महासङ्घ धनकुटा शाखामा टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कारका लागि अक्षय कोष स्थापना गरिएको छ ।शाखाले सञ्चालन गर्ने गरी धनकुटा नगरपालिका– ५ का समाजसेवी द्रोणप्रसाद गुरागाईँले आफ्ना स्वर्गीय आमा टिकादेवी गुरागाईँ र बुवा हरि गुरागाईँको स्मृतिमा एक लाख ११ हजार १११ रुपियाँको अक्षय कोष स्थापना गरेका हुन् ।
कोष सञ्चालन तथा पुरस्कार सम्बन्धी सम्झौता पत्रमा नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई र अक्षयकोष दाता गुरागाईँले हस्ताक्षर गरेका छन् ।गुरागाईँले यसअघि पनि पत्रकार महासङ्घ धनकुटा शाखाले सञ्चालन गरेको पत्रकार कल्याण कोषका लागि २५ हजार नगद सहयोग गरेका थिए ।
उक्त पुरस्कार हरेक वर्ष पुस २३ गते नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाको स्थापना दिवसको अवसरमा वितरण गरिने पत्रकार महासङ्घ धनकुटा शाखाका सचिव हरिबहादुर लम्जेलले बताए । उनका अनुसार अक्षयकोषमा रहेको साँवा रकमबाट प्राप्त व्याजको ९० प्रतिशत रकमबाट एक जना पत्रकारलाई पुरस्कृत गरिने र १० प्रतिशत कोषमा थप गरिने छ ।