झापामा पाँच सय बढी आँखा दान इच्छुक

झापा, १८ असार । मेची आँखा अस्पताल विर्तामोडको ‘कर्निया कलेक्सन सेन्टर’ मार्फत आँखा दानका लागि इच्छापत्रमा हस्ताक्षर गर्ने हालसम्म ५०० जना बढी रहेका छन् ।अस्पतालका नेत्र सहायक पुष्प अधिकारीले जिल्लामै अझै पनि चेतनाको अभावमा आँखा दान गर्नेहरुको संख्यामा बृद्धि हुन नसकेको बताए ।
उनले जिल्लाभरका स्वास्थ्यकर्मी, हेल्थपोस्टका प्रमुख, रोटरी क्लवलगायत विभिन्न संघसंस्थामार्फत आँखा दानका लागि जनमानसमा सचेतना जोगाउने कार्यक्रमहरु भइरहेको जानकारी दिए । “मृत्यु भएपछि नाश हुने आँखाले कसैले नयाँ जीवन पाउँछ भन्ने सोच मान्छेमा कम छ”, उनले भने, “यसको उपयोगिता बारेमा सबै क्षेत्रबाट जनचेतना फैलाउनुपर्छ ।”
उनले वि.संं २०७४ मा स्थापना गरेको सेन्टरमा जन्मोत्सवको अवसर पारेर पनि आँखाको नानी दान गर्ने पछिल्लो समय अस्पतालमै आउन थालेको बताए । चालु आर्थिक बर्षमा मेची आँखा अस्पतालमा मात्र ७२ जनामा आँखाको नानी प्रत्यारोपण गरेको उनले सुनाए ।
जिल्लामा हालसम्म स्वयम् मृतक आफैंले हस्ताक्षर गरेको इच्छापत्र र परिवारका सदस्यले फाराम भरेको स्वीकृत पत्रको आधारमा छ जनाको मृत्युपछि आँखा निकालिएको नेत्रसहायक अधिकारीले जानकारी दिए । उनले हालसम्म नेपाल आँखा बैंकबाट नै कर्निया मगाएर अस्पतालले प्रत्यारोपण गर्दै आएको बताए ।
उनले मृत शरीरबाट निकालिएको आँखालाई पुन चेकजाँच गर्नुपर्ने भएका कारण नेपाल आँखा अस्पतालमै पठाउने गरेको बताए । जिल्लामा मेची नेत्रालय र मेची आँखा अस्पतालमा कर्निया कलेक्सन सेन्टर रहेका छन् ।
मेचीनगर नगरपालिका–१० का ४० जनाले एकैपटक आँखाको नानी (कर्निया) दान गर्ने घोषणा गरेका छन् । ज्येष्ठ नागरिक मेचीनगर–१० ले आयोजना गरेको कार्यक्रममा ४० बर्षदेखि ८० बर्ष उमेर समूहका व्यक्तित्वहरुले आँखाको नानी दान गर्ने सामूहिक घोषणा गरेका छन् । मेची नेत्रालय काँकरभिट्टाले उनीहरु सबैको आँखाको नानी दान गर्ने इच्छापत्रमा शनिवार हस्ताक्षर गराएको छ । संस्थाका सल्लाहकार स्वाथ्यकर्मी हेमन्तराज दवाडीले इच्छापत्रमा हस्ताक्षर गरेकाहरुको मृत्युपछि आँखा प्राविधिकले आँखाको नानी झिकेर लैजाने बताए । उनले भने , “आँखादान सबभन्दा महत्वपूर्ण दान हो । त्यही भएर मैले इच्छापत्रमा हस्ताक्षर गरेको हुँ ।”

Leave a Reply

Your email address will not be published.