लेखकहरु समाज रुपान्तरण र परिवर्तनका सम्बाहक : काङ्ग्रेस महामन्त्री शर्मा

झापा , २५ चैत । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताएका छन् । उनले सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नु पर्नेमा जोड समेत दिए ।
राजनीतिभन्दा साहित्यको फाँट विराट हुने उनले उल्लेख गरे । ‘समाजलाई बुझ्न मानवीय र भावनात्मक हुन जरुरी छ ’महामन्त्री शर्माले भने, ‘राजनीतिज्ञले समाजको भावना र मानवीय पक्षलाई बुझेको हुनुपर्छ । ’
नेपाली लेखक संघ झापाले अर्जुनधाराको शनिश्चरेमा शनिबार सम्पन्न गरेको साहित्य उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने स्पष्ट पारे ।
गीत, संगीत, गायन, लेखन, कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्ममा समेत राम्रो दख्खल राख्ने शर्माले वैशाखी शीर्षकको कविता वाचन गरेर कार्यक्रमको माहोल आकर्षक बनाएका थिए । पार्टीले लेखक संघ र लेखकका पक्षमा उल्लेख्य काम गर्न नसकेको स्वीकार गदैं महामन्त्री शर्माले आगामी दिनमा पार्टीले त्यसलाई आत्मसात गरेर अघि बढ्ने वचन समेत दिए । लेखक संघलाई प्रभावकारी बनाउन आफूले विगतमा पनि काम गरेको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिने आश्वासन दिए। उनले लेखकहरु समाज रुपान्तरण र परिवर्तनका सम्बाहक भएको उल्लेख समेत गरे ।
तीन सत्रमा सञ्चालन भएको कार्यक्रममा लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठ , महासचिव सोझो गाउँलेले संघका गतिविधि र भावी कार्यक्रमका बारेमा स्पष्ट पारेका थिए ।
डा. रत्नमणि नेपालले राष्ट्रिय लेखक दिवस, सन्दर्भ र औचित्य, कृष्ण बरालले लिला लेखन, बिचार र बहस विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि कार्यपत्र माथि अनुपमा रेग्मी, प्राज्ञ मुनाराज शेर्मा, मिलनकुमार ढुङ्गानालगायतले टिप्पणी गरेका थिए ।
संघका झापा अध्यक्ष कुमार भट्टराईले औचित्यका बारेमा प्रस्ट्याएको कार्यक्रममा केशव आचार्य, सुनिता तामाङ, लीला अनमोलले सहजीकरण गरेका थिए । उत्सवमा २० जना बढीले आआफ्नो रचना वाचन गरेको समीर कट्टेलले बताए ।
उत्सवको अवसरमा संघको केन्द्रीय सचिवालयको बैठक समेत शनिश्चरेमा बसेको थियो । सातै प्रदेशमा बैठक बस्ने योजना अनुरुप पहिलो बैठक कोशी प्रदेशमा बसेको संघका अध्यक्ष श्रेष्ठले जनाए ।

Leave a Reply

Your email address will not be published.