दमक,११ चैत । ‘कोशी’ प्रदेश नामंकनको विरोध गर्दै पहिचान पक्षधरहरुले दमकसहित प्रदेश १ का विभिन्न ठाउँमा आज दिउँसो एक घण्टा चक्का जाम गरेका छन् ।
कोशी नाम खारेजी र गत ५ चैतमा विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भई शुक्रबार उपचारको क्रममा मृत्यु भएका पदम लिम्बू ‘लोजेहाङ’लाई सहिद घोषणा गर्न माग गर्दै चक्का जाम गरिएको हो ।
शनिबार दिउँसो १ बजेदेखि १ घण्टा सडकमा बसेर आन्दोलनकारीहरूले नाराबाजी गरेका हुन् । प्रदेश सरकारले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरू निरन्तर आन्दोलन गरिरहेका छन् ।प्रदेशका कतिपय स्थानीय तहमा आन्दोलनकारीले तालाबन्दीसमेत गरेका छन् । उनीहरूले कोशी नाम खारेज गरेर पहिचानको आधारमा राख्नुपर्ने माग राख्दै आएका छन् ।