मेचीनगर, ११ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको लागि भएको निर्वाचनमा कोषाध्यक्षबाहेक सम्पूर्ण पदमा नेपाल विद्यार्थी संघ विजयी भएको छ ।
गएराति ११.५५ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार २५० मत ल्याई स्ववियु अध्यक्षमा नेवसंघका विशाल तामाङ विजयी भएका छन् । त्यस्तै सचिवमा नेविसंघकै सुवाष खत्री १८२ मत ल्याई विजयी हुँदा कोषाध्यक्षमा भने संयुक्त राष्ट्रवादी प्रगतिशील प्यानलकी अनुषा अर्याल १६९ मत ल्याई निर्वाचित भएकी छन् । त्यस्तै सदस्यहरुमा सबैजना नेविसंघका उम्मेदवारहरु विजयी भएका छन् । सदस्यहरुमा सुरज राई २४५ , सुरज चिमरिया २१७ , रिया ढुंगाना २०७ , अंकितप्रसाद चम्लागाई १८५ र योगेन्द्र खड्का( बरदान) १८१ मत ल्याई निर्वाचित भएको निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले जनाएका छन् ।
समानुपातिकमा पनि नेविसंघ पहिलो
समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत नेविसंघले ल्याएको छ । हिजो साँझ सम्पन्न समानुपातिकतर्फको मतगणनामा कांग्रेसनिकट नेविसंघले २१६ , एमालेनिकट अनेरास्ववियुले ११६, एकीकृत समाजवादीनिकट अनेरास्ववियुले ११० , राप्रपानिकट राप्रविसंले ३० र माओवादीनिकट अखिल क्रान्तिकारीले २६ मत ल्याएका छन् । क्याम्पसमा कुल ६१६ मतदाता विद्यार्थी रहेकोमा ५०४ मत खसेको निर्वाचन समितिका संयोजक खड्काले बताए ।