दमक, २९ फागुन । झापाको कमल गाउँपालिका -७ बिष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत बिद्यालयमा लामो प्रयासपछि उदाहरणीय शैक्षिक वातावरण बन्दै गएको छ ।
बिद्यालयको शैक्षिक सुधारका लागि बिद्यालय प्रशासन, बिद्यालय व्यवस्थापन समिति र अभिभावकहरुबीचको सहकार्यबाट बिद्यालयको भौतिक पूर्वाधारको मात्रै नभएर शैक्षिक गुणस्तरमा नै सुधार हुदै गएको हो ।
अग्रेजी माध्यममा पठनपाठन हुने यस बिद्यालयमा अहिले प्ले गु्रपदेखिनै बिद्यार्थी भर्ना लिने गरिएको छ । बिद्यालय परिसरमा प्ले गु्रपका लागि आवश्यक विभिन्न खेलकुद र मनोरञ्जनका सामग्री समेत राखेको पाइन्छ । कक्षा ७ सम्मनै पठनपाठन हुँदै आएको यस विद्यालयका बिद्यार्थीहरुका लागि टाइ बेल्टसहितको बिद्यालय पोशाक बोर्डिङ स्कूलमा जस्तै अनिवार्य गरिएको छ । सबै जातजातिको मिश्रित बसोबास रहेको सो क्षेत्रका बालबालिकाहरुको बिद्यालय आउने जाने समय सबैको एउटै छ ।
पहिला पहिला जस्तो बिद्यार्थीहरु कक्षामा अनियमित पनि छैनन, सधैं नियमित आउँछन र प्राय सबै एकसाथ बिद्यालय आउने र शैक्षिक कृयाकलापमा सहभागि हुँदा पनि छुट्टै आकर्षण हुँने गरेको प्रधानाध्यापक इन्दिरा खनालले (दाहाल) बताइन् ।
शैक्षिक सुधारको अनुभव सुनाउदै उनले यस विद्यालय तीन वर्षको दौडानमा अहिले कमलकै एक नमुना विद्यालयका रुपमा विकास हुदै गएको बताउँछिन् । पाँच जना दरबन्दी रहेको यस विद्यालयमा अहिले नीजिसहित ११ जना शिक्षक कार्यरत छन् । विद्यालयले नीजि स्रोतबाट ५ जना शिक्षकलाई तलव खुवाउदै आएको उनले बताइन् ।
२०७६ सालको फागुनदेखि यस बिद्यालयले पहिलोपटक महिला प्रधानाध्यापक पाएको हो । २०३० सालमा स्थापित यस विद्यालय प्रशासनमा महिला नेतृत्व पाएपछि विद्यालयमा शैक्षिक सुधारको वातावरण बन्दै गएको विद्यालयले जनाएको छ । बिद्यार्थी संख्या न्यून भएकै कारण एक ताका यो बिद्यालयनै अर्को बिद्यालयमा गाभ्ने चर्चा समेत सरकारी अधिकारीहरुले गर्ने गरेका थिए तर अहिले यो बिद्यालयमा आउने बिद्यार्थीको संख्या २७० पुगेको छ । तीन वर्ष अघि ४० जना विद्यार्थीमा सिमीत रहेको यस विद्यालय स्थानीयको प्रयासपछि विस्तारै फड्को मादै आएको अभिभावक रविन गुरुङले बताए ।
उनले भने, –‘बिद्यालय राज्यको लगानी रहेको समुदायको सम्पत्ति भएकाले यसको संरक्षण र बिकास गर्नु आफूहरुको कर्तव्य भएकाले पनि आफूले यसै विद्यालयमा आफना छोराछोरी अन्त नपठाई यही स्कूलमा पढाउने गरेको छु ’
यसअघि नीजि विद्यालयमा आफना दुई नानीलाई पढाउदै आएपनि यो वर्षदेखि भने गाउँकै सामुदायिक विद्यालयमा पढाउन थालेको उनको भनाई छ । बोर्डिङ्गको स्तरमा यस विद्यालयले शैक्षिक सुधार गरेपछि यस क्षेत्रका कतिपय संस्थागत विद्यालय रित्तिदै गएको छ ।
कतिपय सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी संख्या कागजी दस्तावेजमा मात्रै सिमित हुने गरेपनि यो बिद्यालयको तथ्याङकमा रहेका शत प्रतिशत बिद्यार्थी बिद्यालयमा नियमित अध्ययन गर्न आउने गरेका छन् । प्रधानाध्यापक दाहालले भनिन्, – ‘प्रायः सबै बिद्यार्थी आएकै हुन्छन्, स्थानीय अभिभावकहरुको सक्रियताका कारण विद्यार्थीहरु विद्यालय आउने क्रम समेत बढ्ेको छ ।’
बिद्यालय व्यवस्थापन समितिका सदस्य सन्तोष राईले स्थानीय अभिभावक, व्यवस्थापन समितिका पदाधिकारीहरु जिम्मेवार ढंगबाट प्रस्तुत भएर बिद्यालयको शैक्षिक वातावरण राम्रो बन्दै गएको बताउँछन् ।
कक्षा थपको अनुमति माग
बिद्यार्थी संख्या बढदै गएको र नजिकै अन्य सामुदायिक बिद्यालय समेत नभएका कारण यो बिद्यालयले आउँदो शैक्षिक सत्रदेखि कक्षा ८ सम्मको अध्ययन अध्यापन गराउने लक्ष्य राखेको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनाथ तिम्सिनाका अनुसार हामीले सबै प्रकृया पूरा गरेर थप कक्षाको अनुमति माग गर्दै गाउँपालिकामा पेश गरिसकिएको छ । आगामी शैक्षिक सत्रदेखि भने कक्षा ८ सम्मको पठनपाठन गराउने अनुमति पाउने बताउदै अध्यक्ष तिम्सिनाले भने , –‘यस विद्यालयलाई माध्यमिक तहसम्म क्रमिक रुपमा पठनपाठनको व्यवस्था मिलाउने लक्ष्य लिएका छौ ।’ विद्यालयलाई कमलको एक नमुना विद्यालयका रुपमा विकास गर्ने गरि काम गरिआएको उनको भनाई छ । पाँच कक्षाको अनुमति भएपनि ६ र ७ कक्षा भने आन्तरिक स्तरबाट सञ्चालन गरिआएको उनले सुनाए । ६ र ७ का विद्यार्थीहरुलाई अन्यत्र विद्यालयमा लगेर सहमतिमा परीक्षाको व्यवस्था गरिआएको उनको भनाई छ ।
एक बेला लथालिंग अवस्थामा रहेको यस विद्यालयलाई अभिभवाकको साझा प्रयासपछि बल्ल बल्ल लयमा लम्किरहेको उनले अनुभव सुनाए । विद्यार्थीको अध्ययनको नतिजा समेत उत्साहजनक भएको भन्दै उनले अव कमलकै एक उत्कृष्ठ सामुदायिक विद्यालय बनाउने लक्ष्यमा आफूहरु भएको योजना बताए ।
राष्ट्रपति शैक्षिक सुधारबाट सन्तुष्ट
सामुदायिक बिद्यालयहरुको शैक्षिक सुधारका लागि नेपाल सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा परेको सिंहदेवीका लागि गत आर्थिक बर्षमा प्राप्त रु ३६ लाख रुपैयाँमा बिद्यालयको समेत सहभागिताबाट करिब रु ४५ लाख लागत पर्ने चार कोठे दुई तले पक्की भवन निर्माण सम्पन्न भइसकेको छ ।
त्यसैगरी गाउँपालिकाले दुई कोठे पक्की शौचालय निर्माण गरेको छ । उपभोक्ता समिति मार्फत भवन निर्माण गर्दा यो सम्भव हुन पुगेको अध्यक्ष तिम्सीनाले बताए । यसबर्ष समेत प्रदेश सरकारबाट आइसीटि ल्याबको योजना सो बिद्यालयमा परेको छ । सो योजना कार्यान्वयनमा आएपछि बिद्यालयमा कम्प्युटर शिक्षा समेत प्रदान गर्न सकिने बिद्यालयले जनाएको छ । कम्प्यूटर शिक्षाप्रति विद्यार्थीहरुको आर्कषण बढ्दै गएकाले त्यसैअनुरुप विद्यालयले छुट्टै ल्याव कक्षा सञ्चालन गर्ने गरि काम भईरहेको उनको भनाई छ । पालिकाको वजेटबाट विद्यालयको घेरोवेरा निर्माणको केहि काम भएका र थप योजनाका लागि आवश्यक बजेट समेत माग गरिएको अध्यक्ष तिम्सीनाले बताएका छन् ।