दमकमा चुम्लुङको माघ ८ मा बनभोज

दमक ,२६ पुस । किरात याक्थुङ चुम्लुङ दमकले यहि माघ ८ गते आइतवार सामूहिक रुपमा बनभोज ( ताम्भुङचा थिम्बे ) को आयोजना गर्ने भएको छ । चुम्लुङले लिम्बू समुदायहरुवीचको एकतालाई थप प्रगाढ बनाउन उद्देश्यले पहिलोपटक बनभोज आयोजना गर्ने निर्णय भएको अध्यक्ष देबेन्द्र मावोहाङ चेम्जोङले बताए ।
बनभोज भव्य तथा सभ्य रुपले सम्पन्न गर्न चुम्लुङका नगर सदस्य चन्द्रबहादुर कन्दङवाको संयोजकत्वमा बनभोज व्यवस्थापन समिति गठन गरिएको छ । गठित समितिका संयोजक कन्दङवाले बनभोज तयारीका काम तीव्र पारिएको बताए ।
संयोजक कन्दङवाका अनुसार बनभोजमा सहभागिताका लागि प्रतिव्यक्ति रु १ हजार शुल्क राखिएको छभने दमकबाट ५ किलोमिटर उत्तर चुरे क्षेत्रमा अवस्थित इलाम, चुलाचुलीको पर्यटकीयस्थल चपेटीमा तय गरिएको बनभोजस्थल सम्म आउजाउ गर्न यातायातको व्यवस्था गरिएको छ ।
बनभोजलाई मनोरञ्जनसहित रमाइलो रुपमा बनाउन सहभागिहरुलाई सिलाम साक्मासहितको याक्थुङपहिरन झल्काउने आआफनो वेषभूषामा सहभागिता जनाईदिन हुन चुम्लुङ दमकले निकालेको अपिलमा उल्लेख छ । बनभोजमा नगर भरिका करिव ४ सय जनाको सहभागिता रहने अनुमान गरिएको छ ।
चुम्लुङ नगर अध्यक्ष चेम्जोङले बनभोज कार्यक्रमलाई व्यवस्थित रुपले सफल बनाउन विभिन्न विभागीय उपसमितिहरु गठन गरिएको बताए । बनभोज कार्यक्रमको मूल संयोजकका रुपमा चन्द्र कन्दङवासहित नगरका ८ वटै वडा समितिका पदाधिकारीहरु सदस्य रहने गरि आयोजक समिति गठन गरिएको छ ।
उनका अनुसार खानाको परिकार, खेलकुद सम्बन्धी कार्यक्रम गर्न विभागीय जिम्मेवारी दिईएको छ । हण्डीफोरमा सुकबहादुर सोदेम्बा, छेलोमा तुलसी आङदेम्बे,लंगजम्पमा इन्द्र सम्बाहाम्फे, धनुकाँडमा गुमानसिंह सम्बाहाम्फे लगायतका कार्यक्रमहरु तय गरिएका छन् ।
विहान ८ वजेदेखि शुरु हुने वनभोज विशेष कार्यक्रम अन्तर्गत विहान १० वजेदेखि चुम्लुङ सम्बन्धी हाजिरीजवाफ र दिउँसो १२ वजेदेखि लिम्बूजन्य खेलकुदका कार्यक्रमहरु सञ्चालन हुने मूल समितिका संयोजक कन्दङवाले बतएका छन् ।
विभिन्न गतिविधिहरुमा सक्रिय लिम्बू समुदायको प्रतिनिधिमूलक संस्था चुम्लुङले आयोजना गरेको यस बनभोजसहित सांगठानिक सुढृढिकरण कार्यक्रमलाई ऐतिहासिक बनाउन दमकका सवै याक्थुङवा लिम्बू समुदायले सहयोग पुरयाँउनु पर्ने नगर अध्यक्ष चेम्जोङले आग्रह गरिआएका छन् ।

Leave a Reply

Your email address will not be published.