झापा, ५ मंसिर । नेपाली कांग्रेसले मुस्ताङका सबै निर्वाचन क्षेत्र जितेको छ। एक प्रतिनिधि सभा र दुइटा प्रदेश सभा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।प्रतिनिधि सभामा २९ वर्षका योगेश गौचन थकाली विजयी भए। उनले नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन्। थकालीले ३९९३ मत ल्याए भने तुलाचनले ३०७८ मत ल्याएका थिए।
प्रदेश सभा क्षेत्र (क ) मा कांग्रेसका ३३ वर्षका उम्मेदवार नम्डु गुरूङ विजयी भएका छन्। नम्डुले १०४८ मत ल्याए भने एमालेका उम्मेदवार इन्द्रधारा विष्टले ७९३ मत ल्याएका छन्।
प्रदेश सभा क्षेत्र (ख ) मा कांग्रेसका ३९ वर्षे उम्मेदवार बिकल शेरचन विजयी भएका छन्। उनले २ हजार ७ सय २३ मत ल्याए भने एमालेका उम्मेदवार चन्द्रमोहन गौचनले २ हजार पाँच सय ६५ मत ल्याएका थिए। मुस्ताङमा सात हजार २ सय ६९ मत खसेको थियो। एमालेबाट उम्मेदवार बनेका तीनै जना निवर्तमान सांसद हुन्।