दमक,२ मंसीर । केही दिनयता झापा दमकको उत्तरी क्षेत्रमा जङ्गली हात्तीका कारण स्थानीयहरू त्रसित बन्नुपरेको छ । दमक वडा नं. ३ का वडाध्यक्ष नवीन बरालका अनुसार हम्सेदुम्से सामुदायिक वन आसपासको क्षेत्रमा ११ वटाको सङ्ख्यामा रहेका हात्तीहरूका कारण त्रास पैदा भएको छ ।
एकैसाथ ११ वटा जङ्गली हात्ती स्थानीय जङ्गलबाट गाउँ प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षाकर्मी र स्थानीयको प्रयासमा जङ्गलतर्फ नै खेदिएको पनि बरालले जानकारी दिए । यसभन्दा अघि दुईचार वटा हात्तीहरू स्थानीय जङ्गल तथा घरगाउँमा देखिए पनि यति धेरै सङ्ख्यामा हात्तीहरू देखेपछि स्थानीयहरू रातभर निदाउन नसकेको वडाध्यक्ष बरालले बताए ।
स्थानीय दीपेन्द्र ढुङ्गेलका अनुसार दमकको वडा नं. २ र ३ मा दिनहुँजसो नै हात्ती गाउँमा प्रवेश गर्ने गरेका छन् । यति धेरैको सङ्ख्यामा एकैसाथ हात्ती देखिएको भने यो पहिलो भएको उनले जनाए । एकैसाथ यी सबै हात्ती गाउँघर पसे भने त धेरै नै नोक्सानी पुर्याउँछन्, उनले सुनाए ।
रातको समयमा हिँडडुल गर्न डराउनुपर्ने अवस्था आएको र अन्य समय पनि बालबालिकालाई विद्यालय तथा बाहिर कतै पठाउन मुस्किल बन्ने गरेको ढुङ्गेलले बताए । यस क्षेत्रको प्रमुख समस्याको रूपमा नै हात्ती आङ्तक बन्न थालेको छ, वडा नं. २ का वडाध्यक्ष प्रजापति सापकोटाले जानकारी दिए ।
दमक नगरपालिकाले हात्ती प्रभावित क्षेत्रमा रातभर बत्तीको व्यवस्थापन गर्नका लागि कोसिस गरिरहेको दमक नगरप्रमुख रामकुमार थापाले बताउछन । मुख्य सडक तथा जङ्गल क्षेत्रको सडकमा बत्ती बाल्ने तयारी भइरहेको छ, थापाले भने । उज्यालो र मान्छेको चहलपहल देखिएपछि हात्ती गाउँ प्रवेश गर्न डराउने भएकाले बत्ती आवश्यक रहेको जनाइँदै आएको छ ।