दमक औद्योगिक पार्कको नाममा सयौँ गरिवको उठिबास

 

दमक, १ मंसिर । चीन -नेपाल मैत्री औद्योगिक पार्क बनाउने नाममा सयौँ गरिबको उठिबास भएको छ । दमक -१०, कमल -७ र गौरादहको संगमस्थलमा औद्योगिक पार्क बनाउने नाममा ३ सय बढी गरिबको उठिबास लागेको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापा चीन -नेपालमैत्री औद्योगिक पार्कका अध्यक्ष हुन् । निकै तामझामका साथ ०७७ फागुन १६ गते शिलान्यास गरिएको औद्योगिक पार्क अझै निर्माण सुरु हुन सकेको छैन । २२ सय विघामा बनाउने हल्ला चलाएर थापासहितका नेताले स्वार्थ पूर्ती गरेपछि औद्योगिक पार्क निर्माण अलपत्र परेको स्थानीयहरु बताउँछन् ।

औद्योगिक पार्क निर्माण गर्ने भन्दै सुकुम्बासीलाई मुआब्जा नै नदिई लखेटिएको र गरिबलाई निकै न्यून मूल्यको मुआब्जा दिएर अन्याय गरिएको पीडितहरुले बताएका छन् । ‘हाम्रो जग्गाको फिल्डबुक छ । धनीपूर्जा छैन,’ कमल–७ बाह्रघरेकी पीडित पवित्रा बोहोरा भन्छिन्, ‘अब हामीलाई यहाँ बस्न नदिने रे ।’

कमल–७ का भक्ति सिवाकोटीसँग धनीपूर्जा छ । तर, उनको जग्गाको मोठ कायम छैन । मोठ कायम नभएको भन्दै थापा समिति अध्यक्ष रहेको औद्योगिक पार्कले उनको उठिवास लगाएको छ । मुआब्जा बापतको पैसा नै दिएको छैन । सिटौला भन्छन्, – ‘हामीसँग ०५१ सालदेखि धनीपूर्जा छ । एक विघा १५ धुर जग्गाको मुआब्जा नै दिएनन् । नापीमा जाँदा धनीपूर्जा नै फालिदियो । हामीले न्याय पाइएन हजुर ।’

उनीहरु यो औद्योगिक पार्कले गरिबलाई झन् समस्या पारेको बताउँछन् । अन्य ठाउँमा जग्गा नै नआउने गरीको मुआब्जा दिएर अन्याय गरेको पीडित गोपाल चौहान बताउँछन् । ‘जग्गा एक विघा थियो । २१ लाख रुपैयाँ दिएर घेराबारा गर्यो । एक विघाको मुआब्जाले एक कठ्ठा माटो किन्न सकिएन । रोएर बाध्य भएर जग्गा दिएका छौ,’ गोपालले भने । गोपालले मुआब्जा दिँदासमेत विभेद गरेको बताए । उनले कतै २० लाख एउटै खालको जग्गालाई कतै ८० लाखसम्म दिएको उनले बताए ।

स्थानीय भीमलाल लोहनी थापाका नजिकका मान्छेलाई धेरै मुआब्जा दिएर अरुलाई एकदम कम दिएको बताए । भीमलाल भन्छन्–‘तीन तीर पिच भको मेरो जग्गालाइ २० लाख रुपैया कठ्ठा दिए । नजिकका मान्छेलाई खोलाको जग्गालाई ४५ लाखसम्म दिए । हामीलाई खाली कागजमा हस्ताक्षर गराए ।’ मुद्दा हाल्दा पनि सुनुवाई नभएको गुनासो गरे ।

Leave a Reply

Your email address will not be published.