दमक,२८ कार्तिक । झापाको दमकमा आज आयोजित रक्तदानमा २५ पिन्ट रगत संकलन भएको छ । स्थानीय गोरखा डिपार्टमेन्टको प्राङगणमा भएको खुल्ला रक्तदानमा ५ महिलासहित २५ जनाले रगतदान गरेका आयोजक अखिल क्रान्तिकारी दमक नगर कमिटीका उपाध्यक्ष सन्देस बस्नेतले जानकारी दिए ।
रक्तदानमा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत, प्रदेश कमिटी सदस्य दुर्गाराज चम्लागाई ( श्रीकान्त ) , माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेत, इन्चार्ज बेदु गौतम, सहइन्चार्ज तिर्थराज बस्नेत ( शंकर ) , महिला नेतृ बन्दना नेम्बाङ, सन्देस बस्नेतलगायतले रगतदान गरेका थिए । तिर्थराजले आजसंगै १०१ पटक रगतदान गरेका छन् ।
डेंगु लगायतका संक्रमणका कारण अस्पतालमा विरामीका लागि रगत अभाव हुन नदिन संगठनले रगतदानको आयोजना गरिएको कार्यक्रम संयोजक लक्ष्मी नेपालले बताएका छन् । रक्तदान दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।