देशको समृद्धि नै मुख्य मुद्दा : नेता सिटौला

झापा, १५ कात्तिक । नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले आसन्न चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि मुख्य मुद्दा रहेको बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाटका क्रममा पूर्व उपप्रधान एवम् गृहमन्त्री समेत रहेका उम्मेदवार सिटौलाले बलिदानीपूर्वक ल्याएको गणतन्त्रको संस्थागत विकास गर्न पनि आफू विजय हुन आवश्यक रहेको औल्याए ।

उनले गणतन्त्र विरोधीलाई रोज्ने कि गणतन्त्रबादीलाई रोज्ने भनेर अहिले हरेक मतदाताले छुट्याउन सक्नुहुन्छ भन्ने मलाई विश्वास लागेको बताए । संविधान निर्माणमा मैले महत्त्वपूर्ण भूमिका खेलेको सबैलाई थाहा छ र अब कार्यान्वयनका लागि पनि मेरो आवश्यकता भएको सिटौलाले बताए।

संवैधानिक व्यवस्थाबाट आर्थिक, सामाजिक, राजनीतिक प्रगति गर्ने अवस्था सिर्जना गराउनु छ, उनको भनाइ छ । विकास निर्माणका काममा आफ्नो हिजो पनि ध्यान गएको र अब पनि जाने उनले प्रतिबद्धता जनाए ।

२०७० को संसदीय निर्वाचन पश्चात् झापा क्षेत्र नं ३ मा आफ्नो कार्यकालमा सडक, पुल, खानेपानी, स्वास्थ्य चौकी, विद्यालय, एयरपोर्ट बिस्तार, सामुदायिक भवन, तटबन्धन लगायतका १८० भन्दा बढी विकास आयोजनाहरू सुरु गरेको पनि सिटौलाले बताए। गणतन्त्रको वकालत गर्ने कांग्रेस नेता सिटौला र राजतन्त्रको वकालत गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ ।

Leave a Reply

Your email address will not be published.