दमक, २९ असोज । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान सांसद महेन्द्रकुमारी लिम्बूले आदिवासी रंगशालालाई फेरि निर्वाचनका मुखमा राजनीति खोजिएको टिप्पणी गरेकी छन्।
रंगशालाको विषयलाई लिएर केहि दिन यता एमाले नेताहरु भ्रम छर्न लागि परेको भन्दै उनले जनता झुक्याँएर मत बटुल्ने सपना नदेख्न कडा चेतावनी दिईन् ।
सप्तरङ्गी एफएमको कार्यक्रम सरोकारमा शनिवार विहान कुराकानी गर्दै लिम्बूले आदिवासी, जनजातिहरुको अस्तित्व स्विकार गर्न नसक्ने एमाले नेताहरुले अहिले निर्वाचनमा जनता झुक्याउन लागि परेको आरोप लगाईन् ।
आदिवासी जनजातिका आठ सय भन्दा बढि चिहान उखेलेर बनाईएको रंगशालामा पहिचान स्विकार गर्न नसक्ने एमाले चुनावको मुखमा जनता झुक्याउन आएको उनको टिप्पणी थियो । आफु सत्तामा हुँदा एमालेले रंगशालामा दिवंगत नेता मदन भण्डारीको नाउँ ल्याएर बखेडा झिकेको सबै नागरिकले संझनामा राखेको भन्दै उनले भनिन् र्, आगामी निर्वाचनमा पहिचान विरोधी एमालेलाई यहाँका जनताले पराजित गराउने छ ।’ हिँजो आदिवासीको पहिचान स्विकार गर्न नसक्नेहरुनै अहिले रंगशाला बनाउँछौं भन्दै आएको भन्दै उनले यस्ता झेली कुरामा विश्वास नगर्न पनि आग्रह गरिन् ।
दमकको फाल्गुनन्द सभागृहलाई दमक सभागृह नामाकरण गरेको, दमकमा निर्माण गर्ने भनिएको आदिवासी संग्रहालयलाई बहुजातिय संग्रहालय बनाउने लगायतका दृष्टान्त दिँदै कांग्रेस नेतृ लिम्बुले भोटको लोभमा सोझा सिधा जनजातिलाई झुक्याउने केचेस्टा नगर्न पनि एमाले नेताहरुलाई चेतावनी दिईन् । आदिवासी जनजातिहरु पनि अब बाठा भईसकेको भन्दै यस्ता जालमा नपर्ने उनले उल्लेख गरिन् ।