दमक,२७ साउन । झापा, शिवसताक्षी नगरपालिका ९ का दुर्ई जना बालबालिकाको स्थानीय कन्काई सिचाइँ आयोजनाको नहरमा पर्ने सताक्षी खोलाको साइफनमा अडकिएको अवस्थामा शव भेटिएको छ ।
शिवसताक्षी ९ आईतबारेकी सुस्मा सुन्दासको छोरी अन्दाजी ११ बर्षिया एन्जिला सुन्दास र सोही ठाउँका धुर्व राईका १२ बर्षिय छोरा सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरु दुवै जना विहिवार दिउँसो पौडी खेल्न गएकोमा घर फर्किएर नआएपछि खोजी गर्ने क्रममा गएराती करिब सवा ९ बजे शिवसताक्षी ७ स्थित सताक्षी खोलाको साइफनमा अडकिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए । प्रहरीले उनीहरुले लगाएको कपडा र चप्पल भने खोला नजिकै पर्ने कन्काई सिचाइँको नहरको डिलमा फुकालेर छोडेको अवस्थामा फेला पारेको छ । उनीहरु नहरको डिलमा कपडा राखेर पौडी खेल्न पसेका हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कपडा राखिएको स्थान र शव फेला परेको स्थानबीचको दुरी करिब ४ किलोमिटर रहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान शुरु गरेको जनाएको छ ।