आदिवासी रंगशाला बन्ने आशा जाग्यो

रंगशाला बन्ने खबरले कमलबासी खुसी
कमल,२ असार ।
झापाको कमल गाउँपालिका– ५ मा लामो समयदेखि सरकारी वेवास्ताको शिकार भएको आदिवासी रंगशाला निर्माण अघि बढने आशा जागेको छ । यो रंगशाला निर्माणको दायित्व प्रदेश एक् सरकारले लिएको छ । केन्द्र सरकारले ०६७ सालमा निर्माण शुरु भएको यो रंगशालाको नाम एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहना अनुसार परिवर्तन गर्न खोजिँदा अलपत्र बनेको थियो ।
आर्थिक वर्ष ०७९र०८० को बजेट भाषणका क्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले अब प्रदेश सरकारले आदिवासी रंगशाला निर्माण गर्ने उल्लेख गरेका छन । रंगशाला निर्माणका लागि ०६७ सालमा एक हजार हाराहारीमा आदिवासी जनजातिको चिहान भत्काइएको थियो । तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारी (हाल राष्ट्रपति)ले आदिवासी रंगशालाको शिलान्याससमेत गरेकी थिइन् ।

तर, ०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको दबाबमा केन्द्र सरकारले सो रंगशालाको नाम परिवर्तन गर्दै मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालाको नाममा बजेट विनियोजन गरेको थियो । ०६७ सालदेखि प्रत्येक वर्ष आदिवासी रंगशालाको नाममा बजेट विनियोजन भएर घेराबारा र प्याराफिट निर्माण थालनी भएपछि मदन भण्डारी रंगशालाको नाममा बजेट विनियोजन भएको थियो । तर, त्यसयता प्रत्येक वर्ष केन्द्र सरकारले बजेटमा समावेश गरे पनि समाधि भत्काइएका परिवार तथा सरोकारवालाहरुले विरोध गरेपछि कार्यान्वयन हुन सकेको थिएन ।

ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष ०७८-०७९ को बजेटमा उक्त रंगशालालाई मदन भण्डारी रंगशालाको नाममा दमक–३ मा निर्माण गर्ने उल्लेख थियो । ‘कमलमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भनेको त्यहाँ केहीले राजनीति गरे,’ प्रधानमन्त्री भएका वेला दमकमा भएको एक कार्यक्रममा ओलीले भनेका थिए, ‘अब त्यो रंगशाला दमकमा निर्माण हुन्छ ।’ दमकमा निर्माण गर्न लागिएको मदन भण्डारी रंगशालाको ठेक्का प्रक्रियानै विवादमा पर्यो , त्यही बीचमा ओली नेतृत्वको सरकार ढल्यो ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो भन्छन्, ‘कमल गाउँपालिकामा रहेको आदिवासी रंगशाला अब प्रदेश सरकारले बनाउँछ । प्रदेश सरकारको बहुवर्षे योजनाअन्तर्गत परेको छ । रंगशाला निर्माणको दायित्व हामीले लिएका छौँ ।’

आर्थिक वर्ष ०७९-८० का लागि केन्द्र सरकारले ल्याएको बजेटमा दमकमा निर्माण हुने भनिएको मदन भण्डारी रंगशाला कटौती भयो । यद्यपि, आदिवासी रंगशाला पनि केन्द्रको बजेटमा समावेश हुन सकेन । प्रदेश सरकारले भने यसलाई बजेट भाषणमा समेट्दै निर्माणको दायित्व लिएको छ । ‘कमल गाउँपालिकामा रहेको आदिवासी रंगशाला प्रदेश सरकारले बनाउँछ,’ आर्थिक मामिलामन्त्री आङ्बोले भने, ‘प्रदेश सरकारको बहुवर्षे योजनाअन्तर्गत यो योजना परेको छ । रंगशाला निर्माणको दायित्व हामीले लिएका छौँ ।’

केपी शर्मा ओलीले आदिवासी जनजातिको संस्कृतिमाथि अपमान गरेका कारण प्रदेशले दायित्व लिएको उनको भनाइ छ । ‘आदिवासी जनजातिको चिहान भत्काएर रंगशाला निर्माण सुरु गरिएको थियो । ओलीले आदिवासीको संस्कृतिमाथि त्यत्रो ठूलो अपमान गरे,’ मन्त्री आङ्बोले भने, ‘त्यही कारण प्रदेशले जिम्मेवारी लिएर निर्माण गर्न लागेको हो ।’

यस अघि प्रदेश सरकार बजेट निर्माणको पूर्व तयारीमा रहेका बेला रंगशाला निर्माणस्थल कमल गाउँपालिका र आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको प्रतिनिधिमुलक टोलीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो । सो रंगशालासंगै आयुर्वेद अस्पताल, खानेपानी आयोजना लगायतका जनसरोकारका बिषयहरुमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई नेतृत्वको टोलीले विभिन्न मन्त्रालयमानै पुगेर ज्ञापन पत्र बुझाउनुका साथै आवश्यक छलफल गरेको थियो । प्रतिष्ठानका महासचिव दिपेनवाला राईले प्रदेश सरकारबाट रंगशाला निर्माणको निरन्तरताका लागि बजेट विनियोजन भएको खबरले कमलबासी तथा समाधिस्थलका सरोकारवालाहरुमा आशा जगाएको बताए ।

Leave a Reply

Your email address will not be published.