
झापा,२० जेठ । प्रादेशिक पत्रकारिता पुरस्कार–२०७९ बाट आज चार पत्रकार पुरस्कृत एवं सम्मानित भएका छन् । पुरस्कृत हुनेमा झापाका पत्रकार लीला बराल, सुनसरी इटहरीका कृष्णविनोद लम्साल, धनकुटाका पत्रकारद्वय स्मीता निरौला र सञ्जय सन्तोषी राई छन् ।
उनीहरुलाई जनही रु एक लाख राशिको पुरस्कार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुरस्कार एवं सम्मान प्रदान गरे ।
सत्ता र शक्तिलाई खबरदारी गर्ने पत्रकारिता क्षेत्रको निकै ठूलो योगदान रहेको चर्चा गर्दै उनले सूचना, चेतना, शिक्षासँगै न्यायको आवाज उठाउने यो पेशा मर्यादिन बनाउन जोड दिए ।पुरस्कार वितरण समारोहमा यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले समाजको अभिभावकको भूमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्रको योगदानले समाजमा धेरै परिवर्तन आएको औल्याए । कार्यक्रममा प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, नेपाल पत्रकार महासङ्घ प्रदेश सभापति लीलाबल्लभ घिमिरे, पुरस्कृत पत्रकार सञ्जय सन्तोषी राईले पनि बोलेका थिए ।