
दमक,२० जेठ । सरकारले आर्थिक वर्ष २०७९–८० का लागि वजेट सार्वजनिक गरेसंगै झापाका १५ औ स्थानीय तहको पनि वजेट बिनीयोजन भएका छन् । त्यसका लागि जिल्लामा कुल ७ अर्व ३१ करोड ८६ लाख बजेट छुटिएका छन् ।
केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा यो बजेट बिनियोजन भएको हो । जसमा सबैभन्दा बढी पूर्वी नाका समेत रहेको मेचीनगर नगरपालिकाको बजेट रहेको छ । मेचीनगरले कुल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ ।
यस्तै सबैभन्दा थोरै बजेट हल्दिबारी गाउँपालिकाको रहेको छ । यो गाउँपालिकाको बजेट ३० करोड ९९ लाख रुपैँया रहेको छ । यसैगरि झापाको अर्जुनधारा नगरपालिकाको ४९ करोड ४२ लाख रुपैँया बिनियोजन भएको छ । कन्काई नगरपालिकाको ३५ करोड ७६ लाख , गौरादह नगरपालिकाको ५० करोड ९७ लाख, दमक नगरपालिकाको ७१ करोड ५१ लाख, बिर्तामोड नगरपालिकाको ७० करोड ७९ लाख बिनियोजन भएको छ । यस्तै भद्रपुर नगरपालिकाको ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकाको बजेट ५७ करोड १४ लाख रुपैँया बिनियोजन भएको छ ।
यस्तै ,गाउँपालिकाहरुमा कचनकवलका लागि ३८ करोड ३६ लाख, कमल गाउँपालिकाका लागि ४७ करोड २४ लाख , गौरीगञ्ज गाउँपालिकाका लागि ३२ करोड ६९ लाख रुपैँया बजेट बिनियोजन भएको छ । यसैगरि झापा गाउँपालिकाका लागि ३७ करोड ६ लाख, बाह्रदशी गाउँपालिका लागि ३७ करोड ३३ लाख र बुद्धशान्ति गाउँपालिकाका लागि ३९ करोड १५ लाख रुपैँया बजेट बिनियोजन भएको छ ।
बिनियोजीत बजेटहरु न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान, कार्य सम्पादनमा आधारित अनुदान, शसर्त अनुदान, समपुरक अनुदान र विषेश अनुदान गरि बर्गीकरण गरेर बिनियोजीत भएको हो । कार्य सम्पादनको आधारमा झापामा सबैभन्दा बढी गौरीगञ्ज गाउँपालिकाले प्राप्त गरेको छ । कार्य सम्पादन मार्फत मात्रै त्यस गाउँपालिकाले ५९ लाख रुपैँया बजेट बिनियोजन भएको छ ।
दोस्रोमा शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको समान अंक रहेको छ । यी दुवै पालिकाले ५६ लाख रुपैँगा कार्य सम्पादनका आधारमा थप बजेट पाएका हुन् ।