
पोखरा, १६ जेठ । पोखराबाट मुस्ताङका लागि आइतबार विहान उडेर सम्पर्कविहिन भएको तारा एयरको ट्वीनअटर (एन एइटी विमान )दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । तारा एयरको जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो। जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए।
मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहानमा छरपस्ट अवस्थामा विमानको पाटपुर्जाहरु भेटिएको मध्यकमाण्ड हेडक्वाटर पोखराका कमाण्डपति उपरथी बाबुराम श्रेष्ठले जानकारी दिए । उद्धारमा खटिएका नेपाली सेनाको टोलीले विमान फेलापारेको जानकारी दिएको हो । यता तत्कालै त्यस क्षेत्रमा सेनाको हेलिकप्टर जाने तयारी भएको मौसमले साथदिए यात्रुहरुको मृतशरीर पोखरा ल्याउने तयारी भएको सेनाले जनाएको छ ।
विकट र उच्चक्षेत्रमा विमान दुर्घटनामा परेको र ठुलो आवाज आएको स्थानीयबासीहरुले जानकारी गराएपछि त्यस क्षेत्रमा आइतबारदेखिनै खोजी कार्यतिव्र बनाइएको थियो । विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरीक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका छन् ।
उद्धार टोलीले शव कलेक्सन गर्दे
तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम घटनास्थलमा पुगेको हो ।
थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने अवस्थामा भेटिएको छ । केही शव टुक्रा परेका छन् । प्रहरीले शव कलेक्सन गरिरहेको छ ।