ओलीको गृह नगर दमकमा गठबन्धन विजयी

प्रमुखमा राप्रपाका थापा, उपप्रमुखमा भटटराई
दमक, ६ जेठ । दमक नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनले जितेको छ । आज विहान घोषित अन्तिम परिणाम अनुसार नगरप्रमुखमा गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार भएका राप्रपाका राम थापा र उपप्रमुखमा नेपाली कांग्रेसकी रेगिना भटटराई प्रसाई निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस,राप्रपा, माओवादी केन्द्र,जनता समाजवादी पार्टीसहितको गठबन्धनबाट उम्मेदवार हुनुभएका थापाले आफना प्रतिद्धन्दी नेकपा एमालेकी गीता अधिकारी र उपप्रमुखमा भटटराईले एमालेकै उम्मेदवार अम्बिका प्रसाद खनाललाई पराजित गरेका हुन् । निर्वाचित थापा १७ हजार ५ सय २५ मत ल्याउदै विजयी भए भने उप्रमुख भटटराईले १७ हजार ७२ मत प्राप्त गरि विजयी भईन् ।
उनीहरुका प्रतिद्धन्दी उपप्रमुखका उम्मेदवार एमालेकी अधिकारीले १६ हजार ९६६ र खनालले १६ हजार ५७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशवराज पन्तले बताए ।
नवनिर्वाचित प्रमुख राप्रपा प्रदेश १ का अध्यक्ष र तीन वटा चुनावमा प्रमुखमा पराजित हुदैआएको थिए भने उनीसंग पराजित भएकी अधिकारी नगरपालिकाकी निर्वतमान उपप्रमुख तथा एमालेकी केन्द्रीय सदस्य हुन् ।
१० वटा वडा रहेको नगरपालिकामा वडा न. ४ कांग्रेसका पूण्यप्रसाद दाहाल, वडा न. १० मा राजेन्द्र भण्डारी, वडा न ७ मा राप्रपाका भिमप्रसाद पौडेल र नेकपा एमालेबाट दमक १ मा हरि न्यौपाने, २ मा प्रजाजति सापकोटा, ३ मा नविन बराल , ६ मा टेकबहादुर थापा, ८ मा दिपेश दाहाल र दमक ९ मा कुवेर भटटराई वडाध्यक्षमा निर्वाचित भएको निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमाले बाहेकका पार्टीले करिव २७ बर्ष पछि स्थानीय सरकारको नेतृत्व जित्न सफल भएको छ । दमकमा कुल मतदाता ५८ हजार २ सय ८१ मध्ये निर्वाचनमा भने ६८.५५ प्रतिशत अर्थात ३९९४३ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published.