
दमक , जेठ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा गठबन्धनले विजय शुरुवात गरेको छ । आज दिउँसो दमक १० को सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार वडाध्यक्षमा कांग्रेसका राजेन्द्र भण्डारी निर्वाचित भएका छन् ।उनले नेकपा एमालेका बोधराज न्यौपानेलाई हराएका हुन् । भण्डारीले ११६५ मत ल्याउँदा न्यौपानेले १०१४ मत पाएका छन् ।
दुई कार्यकाल पूरा गरिसकेका न्यौपाने हालका वडाध्यक्ष समेत हुन् । गठबन्धनबाट उम्मेदवार भएका भण्डारीसंगै अन्य वडा सदस्यहरु समेत प्यानलै विजयी भएको हो । अघिल्लो स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिविहीन बनेको कांग्रेसले यसपटक भने दमक १० बाट खाता खोल्न सफल भएको छ । वडाध्यक्षमा निर्वाचित भएसंगै गठबन्धनले दमकमा विजय रयाली निकालेको थियो ।