
दमक,२० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आजदेखि झापाको कमल गाउँपालिका ५ पाडाजुंगीमा ‘पत्रकारिताको बदलिदो आयामःअनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना तथा गौरादह नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिममा जिल्लाका क्रियाशील ३५ जना सञ्चारकर्मीको सहभागिता छ ।
तालिमको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले उद्घाटन गरे । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सुरु भएको प्रशिक्षणमा अनलाइनका अग्रज पत्रकार नेपालखबर डटकमका सम्पादक अरुण बरालले सहजीकरण गरिरहेका छन् ।
उद्घाटन समारोहमा महासंघ प्रदेश १ समितिका सदस्य विष्णु सुब्बा, प्रेस चौतारीका जिल्ला अध्यक्ष मनकुमार गदाल, प्रेस युनियनका जिल्ला उपाध्यक्ष गिरिराज भट्टराई, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अनिलदेव राई, फोनिजकी जिल्ला अध्यक्ष भूमिका सुब्बा, सञ्चार क्लब गौरादहका सचिव सान नेपाल, शिवसताक्षी प्रेस क्लवका अध्यक्ष सेलिङ केसीले शुभकामना मन्तब्य राखेका थिए ।
‘प्रविधि नियन्त्रित मिडिया’ भन्ने नाराका साथ मंगलबार अर्थात मे ३ तारिकमा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।..