प्रथम अध्यक्षकप फुटबलको उपाधि टेम्केलाई

दमक, ३ चैत । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीले चुमेको छ । आज भएको फाइनल खेलमा एपीएफ पकली सुसनरीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि चुमेको हो । उपाधिसँगै टेम्केले रु २ लाखसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो भने उपविजेता एपीएफले रु १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको थियो ।
दोस्रो हाफको ११औं मिनेटमा टेम्केका अभिषेक खड्काको क्रसमा रोमन लिम्बूले जितका लागि निर्णायक गोल गरेका थिए । उक्त खेलको प्लेयर अफ दी म्याच टेम्केका रोमन लिम्बू घोषित भए । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक टेम्केका प्रवीण लिम्बू, उत्कृष्ट डिफेन्डरमा एपीएफका दिवस गिरी, उत्कृष्ट स्टाइकर टेम्केका आकाश राई, उत्कृष्ट कोच टेम्केका जोगिन मरिक र सर्वोत्कृष्ट खेलाडी एपीएफका रोमन भुजेल घोषित भएका छन् ।
प्रतियोगिताको समापन समारोहका अवसरमा अग्रज खेलाडी बलबहादुर कार्कीलाई सम्मान गरिएको थियो । विगतमा केर्खा क्षेत्रमा उनले फुटबल खेलको विकासमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । उनले केर्खा फुटबल क्लबसँगै झापा ११, बौद्ध फुटबल क्लबबाट समेत खेल खेलेका थिए ।
त्यस्तै ,कमल गाउँपालिकाका फुटबल कोच रुस्तम राई, नवकिरण बाल क्लब लगायतलाई सम्मान गरिएको थियो ।
विजेता,उपविजेता खेलाडीहरुलाई प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनु शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।
गत फागुन २५ देखि शुरु भएको प्रदेशस्तरिय फूटवल प्रतियोगिता कमल गाउँपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published.