
दमक,२६ फागुन । संखुवासभाबाट झापाको दमक जाँदै बसेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । आज बिहान मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले बताएको छ । बसमा करिब २५ जना रहेको अनुमान छ ।
बस दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । दुर्घटनामा ज्यान गुमाएका पहिचान खुल्न सकेको छैन् । प्रहरीले पाँच जना घाइतेको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको जनाएकोछ ।
तीन जना गम्भीर घाइते छन् । उनीहरूलाई हेलिकोप्टर मगाएर उपचारका लागि लैजाने तयारी भएको प्रनाउ सुवेदीले बताए । साथै गृहमन्त्री बालकृष्ण खाणले घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन् । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो ।