झापा ,३ बैशाख । झापाको शिवसताक्षीमा पुलमुनि नवजात शिशुको शव फेला परेको छ । बुधबारराति ११ः५० बजे शिवसताक्षी –३ भोटे पुलमुनि नवजात शिशुको ( छोरा ) शव फेला परेको हो । घटनाबारे प्रहरी चौकी धरमपुरमा जानकारी प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । कानुनी प्रक्रिया पूरा गरि शव पोस्टमार्टमका लागि बि.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
सो घटनाका बारेमा अनुसन्धान गर्न एकजना १३ वर्षीया नावालिकालाई नियन्त्रणमा लिइएको छ । उनले जन्माएर फालेको आशंका गरिएको छ । ती नवजात शिशु मृत नै जन्मिएको वा नाबालिकाले हत्या गरेर फालेको हो भन्ने विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
बालिकामाथि यौनजन्य हिंसा आरोपमा पक्राउ
धनकुटामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–६ गुठ बस्ने ४२ वर्षीय धनबहादुर गिरी रहेको प्रहरीले जनाएको छ । बालिकामाथि यौनजन्य हिंसा गरेको भन्दै प्रहरीमा उजुरी परेपछि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो।
प्रहरी चौकी लेगुवाबाट खटिएको टोलीले बुधबार साँझ गिरीलाई घरबाटै नियन्त्रणमा लिएको हो। पक्राउ परेका गिरीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।