मृत फेला परेकी महिलाको हत्यामा संग्लग्न पक्राउ

धरान ,२२ फागुन ।सुनसरीको धरान उप–महानगरपालिका–१८ मा रहेको न्यू कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा मृत फेला परेकी महिलाको हत्यामा संग्लग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका–६ धनकुटाका २४ बर्षीय जीवन उपनामका विनेश राना रहेका छन् । फागुन १७ गते बिहान ७ बजेको समयमा होटलको कोठामा एक जना महिला मृत रहेको भन्ने खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटिएको प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
तत्काल पहिचान नखुलेकी महिला मृत अवस्थामा रहेको पाए संगै पहिचान गर्ने क्रममा मिक्लाजुङ गाउँपालिका–१ पाँचथर घर भई हाल इटहरी–५ मा बस्दै आएकी ३९ बर्षीया सुमित्रा तामाङ रहेको खुलेको थियो ।
मृतकको पहिचान खुलेसंगै उक्त घटनामा संग्लग्नको खोजतलास गर्ने क्रममा रानालाई फागुन २१ गते धनकुटाको पाख्रिवास–११ बाट प्रहरीले पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका रानाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.