
पथरीशनिश्चरे , २६ पुस । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं प्रदेशको प्रादेशिक अधिवेशन भोलि २७ गतेदेखि पथरीशनिश्चरेमा हुदैछ ।
फोनिज प्रदेश समितिको प्रादेशिक अधिबेशनको १ नं प्रदेश सरकारका आर्थिक मामिला तथा विकास मन्त्री ईन्द्र आङ्बोले गर्ने कार्यक्रम रहेको छ ।
‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने नाराको साथ सम्पन्न हून लागेको दुई दिने दोस्रो प्रादेशिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको फोनिज १ नम्बर प्रदेश समितिका अध्यक्ष अर्जुन जम्नेली राईले जानकारी दिए ।
अधिबेशनमा फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङ, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, पत्रकारसँग सम्बन्धित विभिन्न संगठनका प्रदेश समिति अध्यक्षहरुको उपस्थिति रहने छ ।
उक्त अवसरमा पत्रकार महासंघ१ नं प्रदेशका अध्यक्ष लिला वल्लभ घिमीरे , प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष विजय सन्तोषी राई , माओवादी निकट प्रेस संगठनका १नं प्रदेश कमिटी अध्यक्ष विनोद घिमिरे , प्रेस चौतारी नेपाल,१ नं प्रदेश अध्यक्ष लिलाराज भट्टराई लगायतका संचारकर्मीहरुको उपस्थिति रहने बताइएको छ भने संघीय अध्यक्ष डण्ड गुरुङ , नेपाल टेलिभिजनका सम्पादक समेत रहेका फोनिजका वरिष्ठ उपाध्यक्ष गजुर्धन राई, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई अभिनन्दन तथा सम्मान कार्यक्रम गरिने भएको छ ।
पथरीशनिश्चरे नगरको प्रथम जाति धिमालको साथै च्याब्रुङ, साकेला, सन्थाल, झाँगड लगायतको सांस्कृतिक झाँकी प्रदर्शन हुने उक्त महाधिवेशनमा १४ जिल्लाबाट १५० बढी प्रतिनिधि पर्यवेक्षक उपस्थिति हुने आयोजक समितिले जनाएको छ । प्रतिनिधिहरुलाई धिमाल जातिको मौलिक परिकार घोँगी, चिचिरी भात, थारु समुदायको ढकिया (ढिक्री ), बगिया, सानो बाम माछा लगायत खुवाउने तयारी भइरहेको अध्यक्ष राईले बताए । ।
फोनिजको छतर भेलाले प्रदेशको नाम ‘किरात—लिम्बुवान’ राख्न र रासतालबाट धार्मिक, सांस्कृतिक महत्व बोकेको खुवालुङ अतिक्रमण रोक्न प्रस्ताव परित गर्दै सरकारसँग माग गरिएको छ ।
प्रदेश अधिवेशनमा संगठनको प्रगति विवरण, सांगठानिक र आर्थिक प्रतिवेदन पेश गरिनुका साथै भावी योजना बारेमा पनि बृहत छलफल हुने, आदिवासी जनजातिको मुद्धामा कलम चलाउने पत्रकारलाई सम्मान तथा पुरस्कार गर्न १० लाख रकम पुर्याउने गरी अक्षयकोषको घोषणा हुने तथा ‘फोनिज १ नम्बर प्रदेश’ मुखपत्र सार्वजनिक गरिने छ । महाधिबेशनले प्रदेश समितिको नयाँ नेतृत्व चयन हुने जनाईएको छ ।
फोनिज प्रदेश समितिले १ नम्बर प्रदेश सरकार, विराटनगर महानगरपालिका, धरान, इटहरी उपमहानगरपालिका, नगर र गाउँपालिकाहरुमा पुगेर नगर क्षेत्रमा काम गर्ने श्रमजीवी पत्रकारहरुको लागि बार्षिक रुपमा ५० हजारदेखि एक लाखसम्मको लेखनवृति दिन र ६५ बर्ष माथिका जेष्ठ पत्रकारहरुलाई महिनाको १० हजारको दरले निर्वाह रकम माग गरिरहेको फोनिजले आम सञ्चारकर्मीहरुको भौतिक र व्यवसायिक सुरक्षाको साथै मातृभाषा पत्रकारिताको विकासमा जोड दिंदैआएको जनाएको छ।
समानुपातिक, समावेशिता, सुशासन, देश, प्रदेशको समृद्धि, संघीय गणतन्त्रको रक्षा र पूर्ण संघीयता नेपाली पत्रकारिताको मिसन रहेको उल्लेख छ । फोनिजले मिडिया हाउसहरुको न्युज रुमदेखि समाचारको बिषयसम्म समानुपातिक हुनुपर्ने सवाल उठाउदै आएको छ ।
प्रदेशमा आदिवासी जनजाति पत्रकारको संख्या आठ सय र नेपाल पत्रकार महासंघमा सदस्य रहेको आदिवासी पत्रकार ७०८ रहेका छन् । १ नम्बर प्रदेशमा नेपाल पत्रकार महासंघको साधारण सदस्य एक हजार ६०९ रहेका छन् । नेपालको सातै प्रदेश ,६० जिल्ला र विश्वका ६ वटा देशहरुमा संगठानिक शाखाहरु रहेको र सदस्य संख्याको हिसावले फोनिज नेपाल पत्रकार महासंघपछि दोस्रो ठूलो साझा संस्था रहेको दाबी गर्दै आएको छ ।