एक सय ३४ पदको मत गणना सकियो

झापा,८ पुस । नेपाली कांग्रेसको एक सय ३४ पदका लागि भएको चुनावको मत गणना सकिएको छ । खस,आर्यतर्फ केन्द्रीय सदस्यको मतगणना सकिएसँगै एक सय ३४ पदका लागि भएको चुनावको सबै मत गणना सकिएको हो ।

आज बिहीवार बेलुका सम्पन्न मत गणनाअनुसार खसरआर्य खुलातर्फ सात पदका लागि भएको चुनावमा केशवकुमार बुढाथोकी, गोविन्दबहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित भए । निर्वाचित हुने केन्द्रीय सदस्यमा मधु आचार्यबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् ।

त्यस्तै खसरआर्य महिलातर्फ ६ जनाका लागि भएको चुनावमा मञ्जु खाण, प्रतिमा गौतम, नानु बास्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना विजयी भए । गौतम संस्थापन इतर समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भए भने बाँकी पाँच जना संस्थापन समूहबाट विजयी भएका हुन् ।

यस्तै आदिवासी जनजातितर्फ खुला र महिला गरी १५ केन्द्रीय सदस्य पदका लागि चुनाव भएकोमा खुलातर्फ आठ र महिलातर्फ सात पदका लागि भएको चुनावमा १४ जना संस्थापन समूहका उम्मेदवार विजयी भएका छन् । खुलातर्फ चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, तारामान गुरुङ, आङ्गेलु शेर्पा र टेकप्रसाद गुरुङ विजयी भएका हुन् । टेकप्रसाद गुरुङ संस्थापनइतर समूहका उम्मेदवार हुन् । बाँकी सात जना सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएका हुन् ।

त्यस्तै महिलातर्फ सातै जना देउवा समूहका निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सीता गुरुङ, अञ्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगालक्ष्मी अवाल, माया राई, सीताकुमारी राना र सुशीला थिङ रहेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

आज निर्वाचित भएकाहरूको मतसहितको विवरण भने कांग्रेस निर्वाचन समितिले सार्वजनिक गरिसकेको छैन । कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि सुरु भएको थियो । निर्वाचित उम्मेदवारलाई भोलि प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले गरेको छ ।

Leave a Reply

Your email address will not be published.