साहित्यकार स्व.फाइवालीलाई मरणोपरान्त पुरस्कार

बिर्तामोड,६ पुस । किरात याक्थुङ् चुम्लुङ जिल्ला शाखा झापालाई जग्गा र भवन प्रदान गर्ने दाता स्व. नरेन्द्र बहादुर आङबोहाङको ९४ औं जन्मजयन्ती बिर्तामोडस्थित चुम्लुङहिममा आज विविध कार्यक्रम गरि मनाईएको छ ।
त्यस अवसरमा चुम्लुङमा स्थापना गरिएको स्व.नरेन्द्र कमला आङबोहाङ स्मृति साहित्यकार पुरस्कारबाट झापा,अर्जुनधाराका स्व. साहित्यकार नरबहादुर योङहाङ (नवल फाइवाली ) लाई मरणोपरान्त प्रदान गरिएको छ । उक्त पुरस्कार दिवंगत फाइवालीका छोरा गौरब योङहाङलाई प्रदान गरिएको थियो ।
त्यस्तै, चुम्लुङ झापा शाखाले भवन तथा जग्गादानमा योगदान पुरयाँउने स्व.आङबोहाङका परिवारतर्फ ज्ञानेन्द्र आङबोहाङ, लक्की आङबोहाङ र रेखा आङबोहाङहरूलाई सम्मान गरिएको थियो ।
चुम्लुङका केन्द्रीय सल्लाहकार जीतबहादुर लावती र विशिष्ठ अतिथि झापा हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनले संयुक्त रूपमा फूलमाला र दोसल्ला ओढाएर दाता परिवारलाई सम्मान गरेका छन् ।
स्व. आङबोहाङले झापाको बिर्तामोड -१ स्थित सिरिजङ्गाचौकमा १ कट्ठा ७ धुर जग्गा र सोही जग्गामा एकतले भवन निर्माण गरि कियाचु झापालाई प्रदान गरेका थिए । चुम्लुङले बर्सेनी स्व. आङबोहाङको जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाउदैआएको छ ।
त्यस अवसरमा वक्ताहरुले स्व.आङबोहाङले लिम्बू समाज,संस्कृति प्रति पुरयाँएका योगदानलाई अतुलनीय भएको चर्चा गरिएको थियो ।
जिल्ला चुम्लुङ सहसचिव कविन्द्र सेर्माले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा जिल्ला सदस्य योगचन्द्र आङबोहाङले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने स्व.दाता आङबोहाङको संक्षिप्त जीवनीका बारे चुम्लुङ जिल्ला सदस्य धर्म लक्सम्बाले चर्चा गरेका थिए।
चुम्लुङ जिल्ला अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय श्रीजङ्गा के लाङ समूहले केलाङ प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन चुम्लुङ जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.