
काठमाडौं ,२५ मंसिर । नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् ।
यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान सहमहामन्त्री हुन् भने पौडेल केन्द्रीय सदस्य थिए । १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई साथ दिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो तर्फबाट महामन्त्रीमा पौडेललाई अघि सारेका हुन् ।
निधिले दिए सभापतिमा उम्मेदवारी
कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान नेपाली सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता सिंहले सभापतिमा अलग्गै उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रवक्ता शर्मा लामो समय सभापति शेरबहादुर देउवाको प्यानलमा रहेका थिए । केही महिनाअघि नै महामन्त्रीमाा उम्मेदवारी घोषणा गरेका शर्माले देउवा पक्षको प्यानलमा पर्न नसकेपछि शेखर कोइरालाको प्यानलमा बस्ने पहल गरेका थिए । तर त्यो पनि सम्भव नभएपछि उनी अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका हुन् ।
कोइरालाले दिए कांग्रेस सभापतिमा उम्मेदवारी
कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले उम्मेदवारी दर्ता गराएको छ । शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा.मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको थियो ।
सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेको एक नेताले जानकारी दिए । उनीहरु सबैले शनिबार दिउँसो महाधिवेशनस्थल भृकुटीमण्डपमा गई उम्मेदवारी दर्ता गराएका हुन् ।
कल्याण गुरुङले दिए कांग्रेस सभापतिमा उम्मेदवारी
कांग्रेस सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । भृकुटीमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् ।
गुरुङले यसअघि नै पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । गुरुङ केन्द्रीय सदस्य हुन् । एउटा व्यक्ति समानुपातिकतर्फ एक पटक मात्र सांसद हुन पाउने, मन्त्री र प्रधानमन्त्री पनि दुई पटक मात्र हुन पाउने व्यवस्था संविधानमा नै गर्न पहल गर्ने उनको एजेण्डा छ । यस्तै सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।निर्वाचन समितिका अनुसार सभापतिका लागि युवराज न्यौपानेसहित ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
काँग्रेसको खुल्ला केन्द्रीय सदस्यमा १०९ जनाको उम्मेदवारी
नेपाली काँग्रेसको खुला तर्फको केन्द्रीय सदस्य पदमा १०९ जनाका उम्मेदवारी परेको छ । खुलातर्फ ३५ जना निर्वाचित हुनेमा १०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए ।