
दमक,३ मंसीर । झापाको दमक नगरपालिका – ३ का गोपाल ढकालले २०७२ सालमा १५ कठ्ठा जग्गा बिक्री गरे । ढकालले १७ कठ्ठा जग्गामध्ये २ कठ्ठा राखेर बाँकी जग्गा दमककै तेजप्रसाद खरेललाई बिक्री गरेका हुन् । प्रतिकठ्ठा ३ लाख रुपैयाँले १५ कठ्ठा जग्गा बिक्री गरेको बताउने ढकालले त्यस समयमा खरेलले कुन प्रयोजका लागि जग्गा किने भन्ने पत्तो पाएनन् । उनले तेजप्रसादका बुबा केवली खरेलको नाममा जग्गा पास गरेको ढकाल बताउँछन् ।
खरेलले मात्र नभइ २०७२ सालमा दमक –३ मा व्यापारीको समूहले धमाधम जग्गा किन्यो । ढकाल परिवारलाई ७२ सालमा गएको महाभुकम्पको कारण काठमाडौंका नागरिक दमकमा आएर गाई पालन, कछुवा पालन गर्न जग्गा किनेको सम्म भन्न भ्याए व्यापारीले ।
सोही समयमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रथम पटक प्रधानमन्त्री बनेका थिए । व्यापारीले आफ्नो र आफन्तका नाममा जग्गा पास गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले दमक –३मा भ्यु टावर निर्माण प्रक्रिया सुरु गरे ।
अहिले उक्त समयमा व्यापारीले खरिद गरेको भ्यु टावर आसपासको जग्गा प्लटिङ गरिएको छ । भ्यु टावर दक्षिणतर्फ रहेको माँ पञ्चकन्या हाउजिङ् प्रालि ढकालको जग्गा खरिद गर्ने खरेलसहितको समुहले सञ्चालनमा ल्याएको छ ।
ढकालले ०७२ सालमा प्रतिकठ्ठा ३ लाख रुपैयाँमा बिक्री गरेको जग्गा अहिले प्रतिधुर ५ लाख रुपैयाँसम्म कारोबार हुँदै आएको छ । “हामीले ४५ लाख रुपैयाँमा बिक्री गरेको जग्गा अहिले १५ करोड रुपैयाँको भएको छ” ढकालका छोरा नविन ढकालले भने । “अहिले बुझ्दा योजना बनाएर नै व्यापारीले हाम्रो जग्गा खरिद गरेका रहेछन् । त्यो समयमा हामीले भ्यू टावर बन्ने कुराको अत्तपत्तो नै पाएनौं । हामीले जग्गा पास गरेको महिनादिन नबित्दै भ्यू टावरको निर्माण प्रक्रिया सुरु भयो” ढकालले भने ।
माँ पञ्चकन्या हाउजिङ प्रालिका सञ्चालक कृष्णराज खतिवडाका अनुसार, अहिले भ्यु टावर आसपासको जग्गा प्रतिधुर पाँच लाख भन्दा बढीका पनि छन् । “हामी प्लटिङलाई व्यवस्थित गर्न लागिपरेका छौं” खतिवडाले भने । माँ पञ्चकन्या हाउजिङ् प्रा। लिमा ५ जनाको समूह रहेको खतिवडाले कारोबार दैनिकसँग बताए ।
व्यापारीको समूहले खरिद गरेको जग्गाको साँधसँगै जाडिएको छ स्थानीय इश्वरा न्यौपानेको डेढ विगाह खेत । “हामीलाई पनि व्यापारीले पहिलेदेखि नै जग्गा माग्दै आएका हुन् । भात खाने खेत भएर हामीले भने बेचेनौं ।” २०७२ सालमा प्रतिकठ्ठा ३ लाख रुपैयाँमा माग्ने व्यापारी अहिले प्रतिकठ्ठा ८० लाख रुपैयाँसम्म दिन्छौं भन्न थालेका छन्” न्यौपानेले भनिन् ।
भ्यु टावर आसपास व्यापारीले करिव १० विगाह जग्गा खरिद गरेको स्थानीय बताउँछन् । व्यापारीको डिजाइन अनुरुप भ्यू टावर उक्त स्थानमा बनाइएको स्थानीयको भनाइ छ । सो दृश्यावलोकन स्तम्भ देशकै सबैभन्दा अग्लो र ठूलो व्यापारीक महल बन्ने बताइएको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर ‘दमक भ्यूटावर’ निर्माण सुरु गरेको हो । १ सय मिटर अग्लो र १८ तले भ्यु टावर १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँमा निर्माणको ठेक्का लगाइएको छ । अहिले भ्यु टावर सातौं तला निर्माण भइरहेको छ ।
जग्गा कारोबार ह्वातै बढ्यो
झापाको दमक जग्गा कारोबारको हटस्पट बन्दै गएको छ । दमक क्षेत्रभित्र भ्यू टावर, विश्वकै अग्लो बुद्धको मूर्ति, रंगलशाला निर्माण हुनेलगायतका आयोजना हुँदा उक्त आयोजना आसपासका जग्गाको कारोबार उच्च भएको मालपोत कार्यालय दमकका प्रमुख तारानाथ दंगाल बताउँछन् ।
देशभरमा मालपोत कार्यालयबाट उच्च घरजग्गा किनबेच हुनेमध्ये दमक पनि पर्दछ । दमकको जग्गाको मूल्य पनि अत्यधिक रहेको छ । दमक क्षेत्रधिकार भित्र पर्ने जग्गाको मूल्य सडक र विकास पूर्वाधारको आधारमा अधिकतम प्रतिवर्ग मिटर २२ हजार ५० रुपैयाँसम्मको सरकारी मूल्यांकन गरेको पाइन्छ ।
मालपोत कार्यालयले दमकले भ्यू टावर आसपास पर्ने जग्गाको सरकारी मूल्यांकन प्रतिकठ्ठा ३ लाख रुपैयाँ तोकेको छ । तर, व्यापारीले प्लटिङ गरेर प्रतिधुर पाँच लाख रुपैयाँसम्म बिक्री गरिरहेका छन् । कोभिडपछि पनि जग्गा कारोबार थप बढेको दंगालको भनाइ छ । कोभिडले उद्योग, व्यापार क्षेत्रलाई प्रभाव पारेकाले जग्गामा लगानी गर्नेको संख्या बढेको हो ।
आर्थिक वर्ष २०७७-०७८ मा उक्त मालपोत कार्यालयबाट मात्रै २२ हजार ७ सय ६२ घरजग्गाको किनबेच भएको छ । गत आर्थिक वर्ष अहिलेसम्मकै जग्गाको कारोबार उच्च भएको जनाइएको छ । आर्थिक वर्ष २०७६-०७७ मा १५ हजार ८ सय २६ घरजग्गाको किनबेच भएको मालपोत कार्यालय दमकको तथ्यांकले देखाउँछ । दंगालका अनुसार यस वर्ष कारोबार बढ्दा राजस्व पनि बढी नै उठेको छ । दमक मालपोतले गत आर्थिक वर्षमा ४६ करोड, ६३ लाख, ४० हजार रुपैयाँ राजस्व उठाएको छ ।
मालपोत कार्यालय दमकको कार्यक्षेत्र माईदेखि पश्चिमतर्फ पर्दछ । झापामा विभिन्न व्यवसायी तथा विदेशमा कमाएको व्यक्तिले आयोजना केन्द्रित जग्गामा लगानी गर्दा कारोबार बढेको हो । पहाडका मानिसहरू सेवासुविधाका लागि तराई झर्ने प्रवृत्ति बढेकाले झापामा जग्गा कारोबार उच्च भएको छ । कारोबारबाट