कृति समीक्षा : हो, घाम कहिल्यै अस्ताउँदैन


समाजका हरेक व्यक्तिहरुका लागि पठनीय र मननीय लाग्यो यो पुस्तक । छोरी भएर पनि छोराकै बराबर अधिकार प्रयोग गर्नलाई बाआमाको अंश वा सम्पत्ति होइन, चोखो हृदयले बाबा आमालाई माया र सम्मान गरे हुने रहेछ । छोरीले पनि छोराले जस्तै बाआमाको चरण स्पर्श गर्न अधिकार नभएको हुनाले आफू यस्ता अधिकारबाट पटक्कै ठगिन नचाहने हो भने ती असल छोरीले पनि लेखकले जस्तै अदृश्य सुत्र प्रयोग गरी गौरवान्वित हुन सकिने रहेछ । यहाँ लेखकले नवौं चिट्ठीमा मुमालाई सम्बोधन गर्दै देखावटीरुपमा मैले हजुरलाई नमस्कार नगरेको कारण मैले मनमनै हजुरका सुलुक्क परेका खुट्टामा नतमस्तक भै कयौँ पटक ढोग्ने गरेकी थिएँ तर यो कुरा हजुरलाई थाहा थिएन भनेकी छन् । म हजुरलाई खुट्टामा ढोग्न चाहन्थें तर त्यो अधिकार नपाएर यस्तो अदृश्य सुत्र प्रयोग गरेकी थिएँ भन्दै औपचारिकताभन्दा मैले बुवा र मुवाँलाई धेरै माथि राखेकी छु भनेर आफूलाई छर्लङ्ग पारेकी छन् । हरेक छोरीले यो पुस्तक पढेर आफ्ना बाआमालाई कायिकरुपले अधिकार नपाउँदा मानसिक वा आत्मिक रुपले सम्मान गरी हृदयमा पूजा गर्न नसकिने होइन रहेछ भन्ने कुरा बुझिन्छ ।

……………………………………………………………………………………………………………………………..

‘घाम अस्ताएको होइन’ पुस्तक हातमा पर्नासाथ त्यसको शीर्षकले नै मलाई एक आदिम सत्यसँग साक्षात्कार गराइदियो । घाम अस्ताए जस्तो देखिएपनि घाम त अस्ताउँदैन । घाम ओझेल परेजस्तो मात्र भएको हो । यता ओझेल पर्दा अर्कातिर त उज्यालै हुन्छ । यहि चिरन्तर सत्य— नअस्ताउने घामसँग लेखक डा. व्यञ्जना शर्माले आफ्नी दिवङ्गत आमालाई यस पुस्तकभित्र तुलना गरेकी छन् ।
दमक बहुमुखी क्याम्पसमा अंग्रजी प्राध्यापन गर्ने डा.व्यन्जनाले आफ्नी आमाको सपना पूरा गर्न आमाकै हौसलाले विद्यावारिधि हासिल गर्न मेलबर्न, अष्ट्रेलिया जस्तो विरानो मुलुकमा रहँदा हठात् मातृवियोगको खबरले विक्षिप्त बनी आलो घाउमा आफैँ मलम पट्टी लगाउदै लेखेको पुस्तक हो ‘घाम अस्ताएको होइन’ । एकतीस भागमा बाँडिएको यो पुस्तक पढ्दा ‘आमा’ भन्ने शब्द वा सम्बन्ध कति पवित्र र अनुपम रहेछ वर्णन गरेर साध्य नै छैन भन्ने कुरा बुझ्न सकिन्छ ।


मातृवियोगको पीडाले अधीर भएर जहाँ जहाँ लेखक अधीर भएकी छन्, त्यहाँ त्यहाँ मेरो मन थामिएन । शायदै कसैको थामिएला भन्छु म त । तथापि मनलाई नियन्त्रण गर्दै आलो घाउमा आफैँ मलमपट्टी लगाउँदै लेखकले आफूलाई दरिलो बनाएको पाउँदा पढ्ने पाठक मलाई पनि पाना पल्टाउने आत्मबल बढ्यो । लेखकले पुस्तकमा वर्णन गरेका शोकाकुल समयका पाँच अवस्थाहरु प्रायः आफ्ना प्रियजन गुमाउनेहरु सबैलाई महसुस गराउने र यथार्थको नजिक भएको मैंले पाएँ । शोकाकुल समयमा शोकसन्तप्त व्यक्तिले वियोगलाई पत्याउन वा स्वीकार्न नसकिने, उचित ध्यान दिन नसकेको भनेर रिसाउने, यसो गरेको भए त ठिक हुन्थ्यो भनेर घुकर््याउने, रोइ कराइ गरेर निरास हुने र अन्तिममा जे हुनु भैगयो भनेर स्वीकार गर्ने अवस्था हुँदारहेछन् । यी सबै चरणहरुलाई लेखकले पनि पार गरेको कुरा उनकी दिवङ्गत मुमालाई लेखेको एकतीसौँ चिठीको सिरानमै पढ्न पाइन्छ । लेखकका निमित्त आमा अमूल्य सम्पत्ति हुनुहुन्थ्यो र त्यस सम्पत्तिलाई कहिल्यै गुमाउन नपरोस् भन्ने उनको प्रवल इच्छा र चिन्ता यो पुस्तकमा व्यक्त गरिएको छ ।
लेखकले मुमालाई चिट्ठीको रुपमा लेखेको यो पुस्तक पढ्दा अल्छि र पट्यार पटक्कै नलाग्ने र बरु पाठकहरुलाई भावुक बनाई मार्गदर्शन गर्ने खालका अधिकांश व्यवहारिक र उपयोगी कुराहरु नै मैले पाएँ । अतः जति पाना पल्टाउँदै गएँ उतिनै मार्मिक शब्दहरुले मलाई तान्न सफल भयो । समाजका हरेक व्यक्तिहरुका लागि पठनीय र मननीय लाग्यो यो पुस्तक । छोरी भएर पनि छोराकै बराबर अधिकार प्रयोग गर्नलाई बाआमाको अंश वा सम्पत्ति होइन, चोखो हृदयले बाबा आमालाई माया र सम्मान गरे हुने रहेछ । छोरीले पनि छोराले जस्तै बाआमाको चरण स्पर्श गर्न अधिकार नभएको हुनाले आफू यस्ता अधिकारबाट पटक्कै ठगिन नचाहने हो भने ती असल छोरीले पनि लेखकले जस्तै अदृश्य सुत्र प्रयोग गरी गौरवान्वित हुन सकिने रहेछ । यहाँ लेखकले नवौं चिट्ठीमा मुमालाई सम्बोधन गर्दै देखावटीरुपमा मैले हजुरलाई नमस्कार नगरेको कारण मैले मनमनै हजुरका सुलुक्क परेका खुट्टामा नतमस्तक भै कयौँ पटक ढोग्ने गरेकी थिएँ तर यो कुरा हजुरलाई थाहा थिएन भनेकी छन् । म हजुरलाई खुट्टामा ढोग्न चाहन्थें तर त्यो अधिकार नपाएर यस्तो अदृश्य सुत्र प्रयोग गरेकी थिएँ भन्दै औपचारिकताभन्दा मैले बुवा र मुवाँलाई धेरै माथि राखेकी छु भनेर आफूलाई छर्लङ्ग पारेकी छन् । हरेक छोरीले यो पुस्तक पढेर आफ्ना बाआमालाई कायिकरुपले अधिकार नपाउँदा मानसिक वा आत्मिक रुपले सम्मान गरी हृदयमा पूजा गर्न नसकिने होइन रहेछ भन्ने कुरा बुझिन्छ ।
बाआमा साथमा हुन्जेल महसुस नभएको पीडा उहाँहरुको अभावमा मानिस आश्रयविहीन वा छहारीविहीन झैँ हुन पुग्दछ । लेखकलाई यस्तै महसुस भएर होला उनले एलिसन अल्वर्टले लेखेका कुरा (आमाबाबु गुमाएको पीडा ढिलो चाँडो सबैले भोग्नुपर्छ तर जब आफूलाई पर्छ तबमात्र यसको मर्म थाहा हुने रहेछ । जुनसुकै उमेरमा आफ्ना बाबुआमाको मृत्यु भएपनि त्यो छोराछोरीका लागि सधैँभरि असामयिक हुने गर्छ ।) लाई मेरो जस्तो पीडालाई एलिसनले सहारा दिएकी छिन् लेखेकी छन् । आफूलाई ममता दिइरहने बाबुआमा गुमाउँदा संवेदनशील मानिस सहसा एकोहोरिने, मृत्युको अनौठो लीला सम्झेर तनावमा रहने गर्छन् । आमाबाको योगदानको ऋणी बनेर अऋणी हुने प्रयत्न गर्छन् । सपनामा बारम्बार देख्ने चाहना गर्छन् र उहाँहरुलाई शान्ति मिल्ने सत्कार्यहरु गरेर पनि उहाँहरुले जति आफूले गर्न नसकेको अनुभूति गरेर छटपटाइरहन्छ्न् । यस्तो छट्पटाहट प्रायः पवित्र चित्तका सन्तानहरुमा पाइन्छ । यहाँ लेखकले पनि मुमाको सम्झनामा लेखिएको बाह्रौँ चिठीमा अशक्त रुपमा घाइते भएका बालबालिकाहरुलाई सहयोग गर्ने संस्था (मेक अ डिफरेन्स ) लाई १०० डलर चन्दा दिएर आमाको नाममा शान्ति प्राप्त होस् भन्ने कामना गरेको प्रसङ्ग पढेर मलाई साह्रै खुशी लागेको छ ।
लेखकले मुमालाई भौतिक रुप परिवर्तन गरी आत्मिक रुपले अभिन्न रहेर दर्शन दिइरहनुभएको विश्वास गरेकी छन् । घना अँध्यारोलाई चिरेर निस्कने उज्यालो धर्सोदेखि लिएर झलमल्ल लाग्ने घाममा समेत लेखक आमाकै प्रतिबिम्ब देख्छिन् । त्यहि घामको विम्वका रुपमा लेखककी मुमा सरस्वती वस्तीले धनकुटामा आफ्ना छोराछोरीलाई जस्तै हजारौं हजार अन्य बालबालिकाहरुलाई धेरै वर्षसम्म शिक्षासेवामा लागेर
शिक्षाको उज्यालो प्रदान गरेकी रहिछन् । ‘मुवाँ त्यो ज्ञानको बत्ती हुनुहुन्छ, जो कहिल्यै ननिभ्ने अखण्ड रुपमा बलेर अझैपनि आफ्ना शिष्यहरुका आँखामा धनकुटाकी गुरुआमाको रुपमा प्रतिबिम्बित हुनुभएको छर्लङ्ग देखिन्छ,’ उनी भन्छिन् ।

  समाजसेवामा पनि उत्तिकै अग्रसर भै स्काउटमा संलग्न भएकी र २०४५ सालको धनकुटाका भूकम्पपीडितहरुलाई दिन रात खटेर गरेको सहयोग अनि आफूसँग सहयोग माग्न आउनेलाई खाली हात नपठाउने मुमाको अनुकरणीय त्याग, समर्पण, ममता र सङ्घर्षको स्मरण गर्दै पृथ्वीनारायणले एउटी बुढीआमैबाट क्षणिक शिक्षा पाउँदा त पाठ्यपुस्तकमा ‘नेपालकी गुरुआमा’ भन्ने पाठ पढ्नुपथर््यो भनें मुमालाई  गुरुआमा नेपालकै नभए पनि अनगिन्ति केटाकेटीहरुलाई सत्कर्ममा लाग्ने प्रेरणा दिएकाले, ‘गुरुआमा धनकुटाकी’ भनेर मान्छेले चिन्नुपर्छ भन्ने तर्क पनि लेखकले राखेकी छन् । आशा गरौँ आगामी स्थानिय निकायका पाठ्यपुस्तकहरुमा, ‘गुरुआमा धनकुटाकी,’ भनेर हाम्रा छोराछोरीले उहाँलाई चिन्न ,पढ्न, बुझ्न र उहाँको जीवनीबाट धेरै कुरा सिक्न सकुन् । 
  यस्ती अविस्मरणीय ,दुर्लभ आमालाई गुमाउनुको पीडालाई शक्तिमा बदल्नका लागि र  आफूबाट अलग हुन नदिन आत्मसंवाद गर्दै आमालाई कहिले चम्किलो ज्योतिमा त कहिले अलौकिक शक्तिमा स्पिरिचुअल गाइड सम्झेर अनि सबै आमाहरुमा आफ्नी आमालाई देखेर आमाले आफूलाई छोडेर जानुभएको नभै अस्तित्व मात्र परिवर्तन भएको ठानी लेखकको आत्मबल बिस्तारै बलियो भएको देख्दा मलाई साह्रै ढुक्क लाग्यो । 
  मैंले यो पुस्तक आफ्ना प्यारा आमाबुवा गुमाउनेहरुलाई सहानुभूति दिने  मात्र नभएर आमाबुवाको जगेडा गर्नका लागि सबै छोराछोरीलाई सतर्कता र सचेतना जगाउने खालको पनि पाएँ । आर्थिक विकासको दृष्टिले तुलनात्मकरुपमा विदेशभन्दा हाम्रो देश धेरै पिछडिएता पनि संस्कृति, शुभ संस्कार र मानवताको दृष्टिले हामी नेपालीहरु साँच्चै धनी रहेछौं भन्ने उदाहरण अष्ट्रेलियाका वेसहारा ज्येष्ठ नागरिकहरुको एकांकीपनको कारुणिक कथा र व्यथाहरु पस्किएको यस पुस्तकको एकतीसौँ चिठीलाई पनि पढेर थाहा भयो । एकचोटी मात्र होइन पटक पटक हरेक छोराछोरीहरुले यो पुस्तकका अरुपनि महत्वपूर्ण भागहरु पढौं र मनन गरौँ भन्ने मेरो अनुरोध हो । धेरैधेरै धन्यवाद छ असल छोरी डा. व्यन्जना शर्मालाई । लेखकले सोचेजस्तै गरी उनकी  प्रिय मुमा सरस्वती वस्तीलाई भगवत्प्राप्ति र अमरत्व प्राप्त भैरहोस् । त्यस्ती उदाहरणीय माताप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।

दमक

Leave a Reply

Your email address will not be published.