
झापा,१९ असोज । सङ्खुवासभा–सङ्खुवासभाको मादी नगरपालिका १ को उमलिङ खोला गाउँमा भएको ६ जनाको सामूहिक हत्यामा संलग्नलाई थुनामा राख्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत चैनपुरले हत्यामा संलग्न मादी नगरपालिका १ का खड्गबहादुर कार्की, लोक बहादुर कार्की, रण बहादुर कार्की र हस्त बहादुर कार्कीलाई र्पुपक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनीहरूलाई पुरपक्षका लागि कारागार कार्यालय खाँदवारि र एक बालकलाई बाल सुधार गृह विराटनगर पठाउने आदेश अदालतले दिएको छ ।
गत भदौ २१ गते बिहान मादी नगरपालिका वडा नं १ उम्लिङ स्थित खोला गाउँमा कार्की परिवारका ६ जनाको सामूहिक बीभत्स हत्या भएको थियो ।
घटनामा तेजबहादुर कार्की, उनका आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी रञ्जना कार्की, नाति दिपेन कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो । हत्यामा संलग्नलाई थुनामा राखेर थप अनुसन्धान गरिने प्रहरीले बताएको छ ।