
दमक,१७ असोज । नेपाली कांग्रेसहितका छ राजनीतिक दलले कमल- ५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयको आर्थिक कारोवार सार्वजनिक नगरि विद्यालय व्यवस्थापन समिति गठन प्रकृया अघि नबढाउन माग गरेका छन् ।
सामुदायिक विद्यालयमा आर्थिक अनियमितताको समाचार आईरहदाँ त्यस विद्यालयले पनि आन्तरिक हिसाव सार्वजनिक नगरि विद्यालय व्यवस्थापन समितिको नेतृत्व चयन प्रकृया अघि बढाएको भन्दै त्यस वडाका छ दलीय गठबन्धनले त्यस्तो माग गरिएको कांग्रेस कमल ५ का सभापति चन्द्रसिंह राईले बताए । छ दलीय टोलीले आज विद्यालय प्रशासनलाई उक्त मागका बारे ज्ञापन पत्र बुझाएको हो ।
कांग्रेससहित कमल ५ का माओवादी केन्द्रका अध्यक्ष विरेन्द्र तिवारी,राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठ ,जनता समाजवादीका वडा अध्यक्ष बबिन आङदेम्बे,नेकपा माओवादी क्रान्तिकारीका भूपेन्द्र लावती र नेकपा एकीकृत समाजवादीका तोयानाथ सापकोटाले संयुक्त हस्ताक्षार गरि विद्यालयलाई ज्ञापन पत्र बुझाइएको कांग्रेस वडा सभापति राईले बताए । विद्यालयमा बुझाईएको ज्ञापन पत्रमा आम अभिभावक बोलाएर मात्र विद्यालयको यर्थाथ हिसाव सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।
विद्यालयले अभिभावकहरुको उपस्थिति विना एकतर्फी रुपले विद्यालय व्यवस्थापन समिति गठन गरे त्यस विरुद्ध संघर्षका कार्यक्रम चलाईने पत्रमा जनाईएको छ ।