

–छविराज ढकाल
पथरीशनिश्चरे, २७ भदौ । भोलि हुन गइरहेको पथरी उद्योग वाणिज्य संघको निर्वाचनको पूर्वसन्ध्यामा दुवै प्यानलका प्रत्यासी उम्मेद्वारहरुले आईतबार दिनभर आ आफना मतदाताहरुमाझ पुगेर अमूल्य मत दिइ आफुहरुलाई जिताउन अनुरोध गरेका छन् ।
भदौ २८ गते संघको निर्वाचन गर्ने मिति यस अघि नै तय भएपछि निवार्चनमा भाग लिन ४ दलीय साझा प्यानल र एमाले निकट संस्थापन प्यानल एक्लै चुनावी मैदानमा उत्रिएका हुन् । उनीहरूको दुवै प्यानलले पथरी, शनिश्चरे र हसन्दह बजारमा रहेका आफ्ना मतदाताहरूसमक्ष मत माग्न व्यस्त रहेका थिए ।
साझा प्यानलमा नेपाली कांग्रेस, माओवादी, नेकपा समाजवादी र जनता समाजवादीको संयुक्त प्यानलले नेका निकट धन बहादुर तामाडलाई अध्यक्ष पदको साझा उम्मेद्वारको रुपमा उठाएको छ भने एमाले निकट संघका निवर्तमान अध्यक्ष दिपक बस्नेतलाई सोहि पदको लागि पुनं उम्मेद्वार पठाएको हो ।
भोलि हुने उक्त निर्वाचनमा धन बहादुर तामाङ नेतृत्वको साझा प्यानलको वरिष्ठ उपाध्यक्ष ओमप्रसाद लिम्बु (नेकपा एस ), उपाध्यक्ष रवीन राई (माओवादी केन्द्र ), महासचिव राजेन्द्र बस्नेत (नेका ), उद्योग सचिव प्रेमप्रसाद सुवेदी (नेका ), वाणिज्य सचिव खेमनाथ ढुंगेल (माओवादी )
, कोषाध्यक्ष विजयजंग बस्नेत (नेका ) , महिला सदस्यमा मुना पाण्डे, जुनी थपलिया ,र अन्यले खुल्ला सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
यसैगरी , संस्थापन समूहबाट अध्यक्ष पदमा संघका निवर्तमान अध्यक्ष दीपक बस्नेत, वरिष्ठ उपाध्यक्षमा यादवचन्द्र दुलाल , उपाध्यक्षमा आशा राई , महासचिवमा अशोक राई, वाणिज्य सचिवमा ईश्वरी सापकोटा, उद्योग सचिवमा मान बहादुर श्रेष्ठ , कोषाध्यक्ष पदमा उद्धवराज बस्नेत तथा महिला सदस्य देवी राई, मिता राई सहित १६ जना खुल्ला सदस्यका लागि उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
दुवै समुहका उम्मेद्वारहरुले आ आफ्ना आगामी संकल्प र प्रतिबद्दताहरु समेत जारी गरेका छन्। उनीहरुले संस्थाको निजी जमिनमा निर्माणाधीन भवनलाई सुविधायुक्त कार्यालयको रुपमा पुर्याउने, शान्ति सुरक्षा कायम गर्न स्थानिय प्रशासनसित समन्वय गर्ने, उद्यमशीलता अभिबृद्धि गर्न सहुलियत कर्जाका लागि सहजीकरण गर्ने, अविलम्ब शव वाहन खरिद गर्ने, प्राकृतिक प्रकोप विपद व्यवस्थापन कोष खडा गर्ने, विभिन्न कारणले विस्थापित स साना उद्योगी ,व्यवसायी तथा व्यापारीलाई पुन व्यवसायमा फर्काउने, अति कमजोर आयस्रोत भएका उद्योगी व्यवसायीहरुलाई विमा नीतिअन्तर्गत सुरक्षित गर्ने र तिनका परिवारजनको स्वास्थ्य विमा गर्न गराउन सहयोग गर्ने, वाणिज्य क्षेत्रको समग्र हक हितका लागि काम गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन, कुटीर उद्योगको विकास गर्दै सामाजिक संघसंस्थालाई सक्दो सहयोग गर्ने, स्थानीय प्रतिभाको खोजी गर्दै हस्तकला, उद्योग,व्यापार,कृषि, संञ्चार आदि प्रदर्शनी आयोजना गर्ने , पथरीशनिश्चरे नगरलाई सुन्दर बजार समृद्ध बजारको रुपमा विकास गर्ने र व्यापारिक हवको रुपमा प्रवद्र्धन गर्ने, लगायतका भावी संकल्पहरु अघि सारेका छन् ।
निर्वाचनमा विहान ८ बजेदेखि वेलुकी ५ बजेसम्ममा १३४ जना आजीवन सदस्य सहित कूल १ हजार ७ सय २० जना मतदाताले मतदान गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।
यसक्षेत्रका उधोगी, व्यवसायी तथा व्यापारीको निक्कै प्रतिष्ठित मानिएको संघको आसन्न निर्वाचनमा कडा प्रतिस्पर्धा हुने कतिपय जानकारहरूले आकंलन गरेका छन् ।