दमक,१० भदौ । जिल्लाको कमल गाउँपालिकाले नागरिकलाई गुणस्तरीय, विशेषज्ञ तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल र काठमाडौं मेडिकल कलेजसँग स्वास्थ्य उपचारसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौताअनुसार कमल गाउँपालिकामा स्थायी रूपमा बसोबास गर्ने नागरिकले तोकिएका सर्त र प्रक्रियाअनुसार नोबेल मेडिकल कलेजमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै, काठमाडौं मेडिकल कलेजको सिनामंगल क्याम्पसमा २५ प्रतिशत र दुवाकोट क्याम्पसमा ४० प्रतिशतसम्म सहुलियत उपलब्ध हुने व्यवस्था गरिएको छ ।यस्तै बिरामीको आर्थिक अवस्थाको आधारमा पालिका अध्यक्षको सिफारिस मा भने १००% सम्म छुट समेत हुनेछ ।
गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको पहल तथा नेतृत्वमा भएको सम्झौताको मुख्य उद्देश्य स्थानीय स्वास्थ्य संस्थाबाट थप विशेषज्ञ वा जटिल उपचार आवश्यक पर्ने बिरामीलाई प्रतिष्ठित शिक्षण अस्पतालसम्म सहज र कम खर्चमा पहुँच पु¥याउनु रहेको गाउँपालिकाले जनाएको छ।
रेफरल कागजात आवश्यक
सम्झौताको सुविधा लिन बिरामीले कमल गाउँपालिकाअन्तर्गतको नगर अस्पताल, स्वास्थ्य चौकी वा सम्बन्धित स्वास्थ्य संस्थाबाट थप उपचारका लागि गरिएको सिफारिस तथा रेफरल कागजात पेश गर्नुपर्नेछ।
यसका साथै गाउँपालिका अध्यक्ष वा उनले तोकेको पदाधिकारीको सिफारिस, ठेगाना खुल्ने परिचयपत्र तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्नेछ। १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
सबै उपचारमा छुट भने नहुने
सम्झौताअनुसार छुट तोकिएका स्वास्थ्य उपचार सेवामा मात्र लागू हुनेछ। क्ष्ख्ँ, विशेष तथा सौन्दर्यसम्बन्धी शल्यक्रिया, क्याबिन बसाइ लगायत सम्झौतामा उल्लेख गरिएका केही सेवामा छुट लागू नहुने जनाइएको छ। उपचारका क्रममा प्रयोग हुने इम्प्लान्ट, सर्जिकल सामग्री, कन्ज्युमेबल सामग्री तथा केही औषधिजन्य खर्चमा समेत छुट नपाइने व्यवस्था छ।
नोबेल मेडिकल कलेजसँगको सम्झौता हस्ताक्षर भएको मितिबाट एक वर्षसम्म कायम रहने र आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा संशोधन तथा परिमार्जन गर्न सकिने उल्लेख छ। काठमाडौं मेडिकल कलेजसँगको सम्झौतामा पनि आपसी सहमतिमा प्रावधान संशोधन गर्न सकिने व्यवस्था गरिएको छ।
सम्झौता कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष राई, दुवै मेडिकल कलेजका सम्बन्धित पदाधिकारी, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दहाल, प्रशासन प्रमुख मनीष यादव लगायतको उपस्थिति रहेको थियो।
गाउँपालिका अध्यक्ष राईले आर्थिक अवस्थाका कारण कुनै पनि नागरिक गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा संस्थागत सहकार्यलाई प्राथमिकता दिइएको बताए ।
स्थानीय तहमा उपलब्ध प्राथमिक तथा आधारभूत स्वास्थ्य सेवालाई थप सुदृढ गर्दै जटिल उपचार आवश्यक पर्ने बिरामीलाई प्रदेश तथा संघीय राजधानीमा रहेका विशेषज्ञ स्वास्थ्य संस्थासम्म व्यवस्थित रूपमा पहुँच पु¥याउने गाउँपालिकाको लक्ष्य रहेको छ।